March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग छलफल गर्ने सहमतिपछि उखु किसानको आन्दोलन स्थगित

2.6K

बारा । बाराका उखु किसानको आन्दोलन स्थगित भएको छ । चिनी उद्योग प्रशासन र स्थानीय प्रशासनसँग सोमबार छलफल गर्ने सहमतिपछि आन्दोलन रोकिएको हो ।

चिनी उद्योगले दिएको ऋण मिनाहा र सरकारले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित किसान आन्दोलनमा छन् । शनिबार कलैया उपमहानगरपालिका–२४ स्थित रिलायन्स चिनी उद्योग अगाडि प्रदर्शन गरेका उनीहरुले आइतबार चिनी उद्योग अगाडि रोगका कारण सुकेको उखु जलाउँदै केही घण्टा प्रदर्शन र चक्काजाम गरेका थिए । झन्डै ३ सय किसानले प्रदर्शन गर्दै करिब ३ क्विन्टल सुकेको उखु जलाएका थिए ।

बारामा झन्डै पाँच सय किसानले करिब ८ सय बिघामा लगाएको उखु खेती रोगले सुक्दै गएकाले किसानलाई नोक्सानीबाट जोगाउन चिनी उद्योगले उखुको बीउ र औषधिका लागि दिएको ऋण मिनाहा गर्नुपर्ने कलैया–१६ विद्यानगरका उखु किसानका अगुवा इन्द्रदेव कुसवाहाले बताए । सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको माग रहेको छ ।

Advertisement

उखुको बीउ र रोगको प्रकोपबाट उखु जोगाउन किसानहरूले ‘ट्राइको डर्मा र फन्डिसाइड’ र कोराजिन नामको औषधिका लागि ऋण लिएको हो । उखुबाट बढीभन्दा बढी चिनी निकाल्न सकिने सीओ २३८ जातको उखु किसानहरूले लगाएका हुन् । मनहर्वा, श्रीपुर, विद्यानगर, कलैया, भोडाहा, उत्तरझिटकैया, इनर्वा, सिसवा, मदिल्वालगायत दर्जनौं गाउँ आसपासको खेतमा लगाइएको उखु सुक्ने रोगको प्रकोप छ ।

रोगको पहिचान भने भइसकेको छैन । रोग पहिचान गर्न र प्रकोपविरुद्ध औषधि छर्न हालसालै उद्योग वा सरकारका तर्फबाट कृषि प्राविधिक टोली खटेको छैन । तर उखु उत्पादक किसान संघ बाराका अध्यक्ष वीरेन्द्र कुसवाहाले ५ महिना अघि उद्योगले प्राविधिक ‘हायर’ गरेर जाँच गराउँदा त्यो बेला प्राविधिकहरूले ‘रेडरट’ रोगले उखु सुकेको बताए । उनका अनुसार बारा र पर्सामा समेत यो रोगको प्रकोप पाँच महिनादेखि फैलिँदै आएको छ ।