April 18, 2025, Friday
२०८२ बैशाख ५
1:37:26 pm

वडाअध्यक्ष बस्नेतद्वारा उपभोक्ता समिति नै नबनाई योजनाको काम

२०७९ कार्तिक १५

4.2K

माङसेबुङ : नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्य संचालनका लागि पालिकाहरुले उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि स्वीकृत गरि जारी गर्छन् । सोही कार्यविधि बमोजिम विकास निर्माण सम्बन्धी कार्य संचालन गर्ने गर्छन् ।

यसै क्रममा इलामको माङसेबुङ गाउँपालिकाले ‘माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’
९ बैशाख २०७५ को कार्यपालिका बैठकले स्वीकृत गरि लागू गरेको छ ।

तर सोही गाउँपालिका अर्थात् माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले आफ्नै पालिकाको कार्यविधि लत्याएका छन् । सो वडामा उपभोक्ता समिति गठन नै नगरी योजना निर्माणको काम संचालन भएको खुलासा भएको छ ।

Advertisement

वडा नम्बर २ को ‘वडास्तरीय सडक मर्मत’ का लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गर्न थालिएको स्थानीयले बताएका हुन् ।

२ नम्बर वडाका विभिन्न सडकहरु मर्मतका लागि चालू आर्थिक वर्ष २०७९/०८० का लागि वडा सिलिङतर्फको सात लाख रुपैयाँको योजनाको काम उपभोक्ता समिति गठन नै नगरी वडा अध्यक्षको ठाडो आदेशमा काम थालिएको देखिएको छ ।

वडा अध्यक्ष बस्नेतले स्थानीय उपभोक्ताहरुलाई जानकारी नै नदिई योजनाको काम गरेको देखिएको हो । उनले आफू अनुकुल केहि व्यक्तिहरुसँगको मिलेमतोमा समिति नवनाई काम गरेको स्थानीय उपभोक्ताहरुको दाबी छ ।

वडा अध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन नगरी आफू निकटका केही व्यक्तिबाटै काम संचालन गरेपछि स्थानीयले विरोध गरेका छन् । जनप्रतिनिधिले नै वडाबासीको सल्लाहविनै आफूखुसी काम गरेर आँखामा छारो हाल्ने काम भएको वडावासीहरुको आरोप छ । योजना निर्माणमा उपभोक्ता समिति गठन गर्नुपर्ने भए पनि वडा अध्यक्षले त्यसो नगरी आफूखुशी काम भएको उनीहरूको भनाई छ ।

उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ को परिच्छेद २ दफा ४ उपदफा १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकत सहभागितामा सम्बन्धित आयोजनास्थलमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।

वडा अध्यक्ष बस्नेतले स्थानीय कुशल इदिङ्गो (पूर्ण) लाई एक्साभेटर उपलब्ध गराएर सडक सरसफाईको काम गर्ने गरि जिम्मेवारी दिएका छन्  । औपचारिक रुपमा समिती गठन नभएपनि पछि मिलाउला भन्दै इदिङ्गोलाई काम गर्ने दिम्मा दिएका हुन् ।

इदिङ्गोले पनि आफू उपभोक्ता समिति अध्यक्षको दावेदार भएको भएपनि औपचारिक रुपमा समिति गठन नभएको स्वीकार गरे ।

‘म समितिको अध्यक्षको दाबेदार चाहिँ हो तर हालसम्म उपभोक्ता समिती गठन भएको छैन’ इदिङ्गोले टेलिफोन सम्पर्कमा भने, ‘वडा अध्यक्षले आफै स्काभेटर मिलाएर मलाई अहिले काम गर्दैगर्नु, अरु पछि मिलाउला भन्नुभयो । वडा अध्यक्षको अनुरोधमा मैले मेसिन लगाउने काम गरिराछु । अरु केही थाहा भएन ।’