April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

सन्दीपलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

1.1K

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो । दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो ।

सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । सन्दीपले इजलासमा आफू निर्दोष रहेको प्रमाणहरु प्रस्तुत गरेको घिमिरेले बताए ।

Advertisement

प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेले आफूविरुद्ध बलात्कारको आरोप लगाएकी किशोरी नाबालिग नभएको दाबी गरेका छन् । २० असोजमा पक्राउ परेका क्रिकेटर लामिछानेलाई प्रहरीले म्याद थपका लागि सोमबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो । त्यसक्रममा न्यायाधीशले सन्दीपलाई घटनाबारे सोधेको थियो । त्यसक्रममा लामिछानेले जाहेरवालाकै आग्रहमा भेटेको र उनी नाबालिग नभएको दाबी गरेका छन् ।

अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको बताइन् । उनले भनिन्, ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ ।’

लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ । उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।