काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसँगै सरकारका मन्त्रीहरु विदेश भ्रमणको मज्जा लिइरहेका छन् । मंसिर ४ को चुनावले नयाँ सरकार चयन गर्ने भएकाले आफ्नो कार्यकालको अन्तिम क्षणमा मन्त्रीहरु विदेश यात्रामा उत्रिएका हुन् । साथै सरकारका सचिबहरु पनि विदेशमा मस्त घुमिरहेका छन् ।
सरकारले विदेश भ्रमणमा मनपर्दी स्वीकृति दिन थालेपछि मन्त्रालयका मन्त्री र सचिव मन्त्रालयलाई नेतृत्वविहीन बनाएर लगातार विदेश भ्रमणमा जान थालेका हुन् ।
केही मन्त्री विदेश भ्रमण सकेर आउनासाथ फेरि अर्का थरी मन्त्री लाइन लागेर विदेश भ्रमणमा जाने क्रम बढेको छ । हाल सरकारका चार मन्त्री विदेश सयरमा छन् भने सोही संख्यामै सचिव पनि विदेश भ्रमणमा मस्त छन् । अन्य केही मन्त्रीहरू विदेश भ्रमणको लाइनमा छन् ।
वन तथा वातावरणमन्त्री प्रदीप यादव आइतबार अमेरिका उडेका छन् । उनी केही दिनअघि मात्रै विदेशबाट फर्केका थिए । त्यसको दुई साता नपुग्दै वनमन्त्री यादव फेरि अमेरिका उडेका हुन् । यस्तै, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ शनिबार क्यानडा उडेका छन् । यस्तै, भूमिसुधार मन्त्री शशि श्रेष्ठ केही दिनदेखि युरोपका विभिन्न देशमा सयरमा छिन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रकुमार श्रेष्ठ पनि शनिबार युरोप प्रस्थान गरेका छन् ।
उनीसँगै मन्त्रालयका सचिव अर्जुन पोखरेल तथा कर्णाली प्रदेश प्रमुख सचिव डा.गोपीकृष्ण खनाललगायतको जम्बो टोली विदेश उडेको छ । कृषि सचिव गोविन्दप्रसाद शर्मा विदेश भ्रमण सकेर केही दिनअघि मात्रै फर्केका छन् यस्तै, स्वास्थ्य सचिव पनि विदेश भ्रमणबाट फर्केका छन् । यस्तै, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र सचिव रामकृष्ण सुवेदी पनि विदेश भ्रमण गरेर केही दिनअघि मात्रै फर्केका छन् ।
सरकारले २०७५ सालमा विदेश भ्रमणसम्बन्धी निर्देशिका जारी गर्दै विदेश भ्रमणमा कडाइ गरेको थियो तर अहिले सो निर्देशिका निष्क्रिय पारिएको छ । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक अर्बभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारीहरुको भनाइ छ ।
विदेश भ्रमणमा रहँदा उच्च पदस्थ मन्त्री तथा कर्मचारीले दैनिक २ सय डलरसम्म भत्ता पाउछन् । उनीहरू कम्तीमा पनि ७ देखि १० दिनको समय मिलाएर विदेश भ्रमणमा निस्कने गरेका छन् । अन्य सचिब तथा मन्त्रीहरुको भ्रमण पनि स्वीकृत भएको छ ।
योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेल र स्वास्थ्य राज्यमन्त्रीसँगै भुटान भ्रमणका लागि, स्वास्थ्य सचिव डा। रोशन पोखरेल र विशेषज्ञ डा। संगीता कौशल मिश्रा पनि विदेश भ्रमण सकेर फर्किएका छन् ।
प्रधानमन्त्री कार्यालयका अनुसार १० देखि १४ सम्म फिलिपिन्सको मनिलामा हुने एसियाली विकास बैंकको ५५औं वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री जनार्दन शर्मा र उनको टोलीको विदेश भ्रमण पनि स्वीकृत भएको छ । यस्तै, १४ कात्तिकदेखि १८ सम्म क्यानडामा हुने अर्को एक कार्यक्रमका लागि उद्योग सचिव डा. तोया ज्ञवालीलगायतको भ्रमण पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।