कुवेत । जुलाई महिना मात्रै रोजगारीको लागि कुवेतमा आएका ४ जना नेपालीहरुले ज्यान गुमाएका छन् । रोजगारीको शिलशिलामा कुवेत आएर विभिन्न क्षेत्रमा कार्यरत ३ जना पुरुष र १ जना महिलाको मृत्यु भएको नेपाली दुतावास कुवेतले जनाएको छ । यसरी मृत्यु हुनेहरुमा गत जुलाई ११ मा रुपन्देहीका विशाल कुवर, जुलाई १९मा मोरङका नर बहादुर बिस्ट, जुलाई २४ मा सोलुखुम्बुकी सेङ्ग्री ल्हमु शेर्पा र जुलाई २५ मा नवलपरासीका उमाशंकर चौधरी थारु रहेका छन् ।
बिस्ट र कुँवरको हृदयघातका कारण, चौधरीको ब्रेंनह्याम्रेजका कारण मृत्यु भएको हो भने शेर्पाले झुण्डिएर आत्महत्या गरेको नेपाली दुतावास कुवेतका दृतिय सचिव श्रीकृष्ण सिलवालले जानकारी दिए । आत्महत्या गरेकी शेर्पा त कुवेत आएको लगभग डेढ महिना मात्रै भएको थियो ।
उनले आत्महत्या गर्नु अघि सामाजिक संजाल टिकटकमा रुदै आफूलाई कुवेत पठाउने एजेन्टले समास्यामा पारेको भन्दै आफ्ना पीडा सार्वजनिक गरेको भिडियो क्लिप सार्वजनिक भएको थियो । उनको आत्महत्याले सबैलाई गम्भीर बनाएको छ । जसको नेपालका राष्ट्रीय मिडियाहरुले रिपोर्ट प्रसारण गरेका छन् ।
शेर्पा एक उदाहरण मात्रै हुन् । बैदेशिक रोजगारीमा आउने धेरै नेपाली चेलीहरुले पनि यस्तै समस्या झेलिरहेका छन् भने ज्यान पनि गुमाईरहेका छन् । यस्ता घटनाहरुबारे सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ ।
हरेक वर्षको आकडा हेर्ने हो भने कुवेतमा आत्महत्या गर्ने, हृदय घातका कारण र सडक दुर्घटना परि ज्यान गुमाउने नेपालीहरुको संख्या अत्याधिक रहेको छ ।