August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

फिदिमका एक व्यवसायी लडेको अवस्थामा मृत फेला

320

पाँचथर । पाँचथरका एक व्यवसायी जिल्लाको हिलिहाङ गाउँपालिका–७ स्थित तमोर कोरिडोर सडकमुनि मृत अवस्थामा फेला परेका छन् ।

पाँचथरको सदरमुकाम फिदिमको अस्पताल चोकमा होटल सञ्चालन गर्दै आएका कुम्मायक गाउँपालिका घर भएका नरेन्द्र चापागाँई तमोर कोरिडोर सडकअन्तर्गत हिलिहाङ–७ को खाल्लेखोला छेउ भीरमा आज मृत फेला परेका हुन् । चापागाँई सडकभन्दा करीब १०० मिटर तल घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।

चापागाँईको मोटरसाइकल सडकको छेउमा लडेको अवस्थामा फेला परेको छ । लडेको मोटरसाइकल उठाउने क्रममा सडकबाट झरेर चापागाँईको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको प्रनाउ थापाले बताए । तर लडेको मोटरसाइकल र मोटरसाइकलको चावी करीब २० फिटको फरकमा फेला परेकाले घटना शंकास्पद देखिएको घटनास्थल पुगेकाहरुको भनाई छ । चापागाँई हिलिहाङ–१ भालुचोकबाट कोरिडोरको बाटो हुँदै हिँजो साँझ फिदिम हिँडेका थिए ।

Advertisement

उनीसँगै भालुचोकबाट फिदिम हिँडेका साथीहरु उनीभन्दा अगाडि फिदिम आएका थिए । चापागाँई बेलुकी घर आइनपुगे पछि विहानबाट खोजी थालिएको थियो । यस क्रममा उनको मोटरसाइकल सडकको छेउमा पल्टिएको अवस्था फेला परेको थियो भने चापागाँई सडकमुनि मृत अवस्थामा फेला परेका थिए ।
मृतकको शव शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको तथा घटनावारे थप अनुसन्धान भइरहेको प्रनाउ थापाले जानकारी दिए । चापागाँई मृत फेला परेको स्थान नजिकै एक महिनाअघि जिल्लाको हिलिहाङ–४ का एक युवक समेत लडेर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।