काठमाडौं । मंगलबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमध्ये दुई जना प्रहरीसमेत रहेको खुलेको छ । एक जना न्यायाधीशका पिएसओ (पर्सनल सेक्युरेटी अफिसर) र अर्का एक बालाजु वृत्तका घुमुवा प्रहरी रहेको खुलेको हो । न्यायाधीशका पिएसओमा ३७ वर्षीय कर्णबहादुर गुरुङ हुन् भने अर्का घुमुवा प्रहरी भने शिव सुनार हुन् ।
प्रहरीका अनुसार बाँकी चार जना भने सर्वसाधारण नेपाली नागरिक रहेका छन् । पक्राउ परेका चार जनामा २८ वर्षीय लक्ष्मण गुरुङ, २९ वर्षीय रोहित मगर, २८ वर्षीय बिशाल मगर र २७ वर्षीय बिनोद केसी रहेका छन् ।
लाजिम्पाटस्थित अपार्टमेन्टबाट ती चिनियाँलाई अपहरण गरेर गंगबुस्थित एक होटलमा बन्धक बनाएर एक करोड फिरौती मागरेका थिए । चिनियाँको अपार्टमेन्टबाट पैसा, मोबाइलसमेत अपहरणकारीले लगेका थिए ।
प्रहरीले पक्राउ परेकाको साथबाट ८ लाख रुपैयाँ नेपाली पैसा र २७ थान मोबाइल बरामद गरेको छ । अपहरण गर्ने गिरोहले चिनियाँको नेपाली दोभाषेलाई नियन्त्रणमा लिएर उनीसम्म पुगेको बताइएको छ ।
प्रहरीकै सहयोगमा भएको अपहरणमा प्रहरीकै पेस्तोलसमेत प्रयोग भएको पाइएको छ।