March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

थप ९ नाकामा आयातित फलफूल र तरकारीको विषादी परीक्षण थालियो 

1.7K

काठमाडौं । आर्थिक वर्षको पहिलो महिनादेखि नेपालका सबै भन्सार नाकाबाट आयातित फलफूल र तरकारीमा विषादी परीक्षण सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार थप ९ वटा कार्यालयमार्फत विषादी परीक्षण थालिएको हो ।

यसअघि ७ वटा नाकामा सीमित रहेको यस्तो परीक्षण साउनदेखि थप ९ ठाउँमा थपिएको विभागले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियमा यस्तो सुविधा थपिएको छ।

Advertisement

हाल काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढी नाकाबाट भित्रिने तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच हुन्छ । भैरहवा अन्तराष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलमा पनि उपकरणसहितको जनशक्ति उपलब्ध गराउने काम सकिएको विभागले जनाएको छ । विषादी परिक्षण थप भएका नाकाका लागि आवश्यक पर्ने मेसिन र किट गत आर्थिक वर्षमै खरिद गरिएको र यसवर्षबाट कार्यान्वयन सुरु भएको विभागले जनाएको छ ।

यी नाकामा आरबीपीआर विधिमार्फत अर्गानो फोस्फेट र कार्बामेट समूहको विषादीको परीक्षण हुनेछ । यो विधिबाट तरकारी र फलफूलको स्क्रिनिङ गर्ने मेसिनले विषादीको परिमाणात्मक विषादी मात्रा परीक्षण गर्ने विभागले जनाएको छ । जसमा आरबीपीआर परीक्षणमार्फत विषादीको मात्राअनुसार तत्काल खानयोग्य, केही समय होल्ड गरेर खान योग्य र खान अयोग्य भनेर छुट्याउने छ ।