काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले केपी ओली सरकारले संसदमा पेश गरेका प्रेस स्वतन्त्रताविरोधी विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ ।
नवनिर्वाचित अध्यक्ष शीव लम्सालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको पहिलो बैठकले उक्त विधेयक तत्काल फिर्ता लिन माग गरेको हो । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण गर्नसमेत युनियनले माग गरेको महासचिव दिलिप पौडेलले जानकारी दिए ।
यसैगरी बैठकले श्रमजीवि ऐन पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । संशोधित विधानअनुसार विनियमावली बनाउन केन्द्रीय उपाध्यक्ष भीष्मराज ओझाको संयोजकत्वमा ५ सदस्यीय ‘विनियमावली मस्यौदा तयारी समिति’ गठन गर्ने निर्णय गरेको उनले बताए ।
पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनःबहाली गर्न सम्बन्धित सञ्चारगृहको ध्यानाकर्षण गर्ने युनियनको निर्णय छ ।
युनियन विश्वभरका पत्रकारको साझा संस्था ‘अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आइएफजे)’ को नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।