August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

फोक्सुन्डोको गुम्बाबाट हराएको बुद्ध मूर्ति सिकागोमा भेटियो

340

काठमाडौँ — डोल्पा जिल्लाको से–फोक्सुन्डोस्थित लाङ् गुम्बामा रहेको चौधौं शताब्दीमा निर्मित तामा धातुले बनेको शाक्यमुनि बुद्धको सुनौलो मूर्ति अमेरिकाको सिकागोमा भेटिएको छ ।

अमेरिकाको सिकागो राज्यअन्तर्गत निजी संग्रह प्रिज्कर (टम) कलेक्सनमा यो मूर्ति भेटिएकोबारे हराएका/चोरिएका नेपाली सम्पदाको खोजी अभियानकर्ता ‘लस्ट आर्ट अफ नेपाल’ले सूचना उपलब्ध गराएको हो । यो सम्पदा सन् ९० दशकको सुरुवातमा हराएको मानिन्छ । नेपालका डोल्पा, मनाङ, मुस्ताङसहितका हिमाली जिल्लामा बौद्धधर्म सम्बन्धी सम्पदा र पुरातात्विक संग्रह उल्लेख्य रुपमा रहीआएकोमा यी सम्पदा अझै पनि चोरी हुने क्रम जारी रहेको छ ।

यसअघि, एक साता अघिमात्रै प्रिज्कर कलेक्सनमै रहेको १२ औं शताब्दीको काष्ठकला संकलनकर्ताको स्वेच्छिक घोषणामा नेपाल फर्काइएको थियो । लस्ट आर्टस् अफ नेपालका अनुसार, प्रिज्कर संग्रहमा नेपालबाट हराएका एक दर्जनभन्दा बढी सम्पदा फेला परेको भएपनि यसको ‘उत्पत्तिको प्रमाण’ तथा नेपालमा बिगतमा रहेको सम्पदाको यथास्थान प्रमाणित गर्ने काम भइरहेको छ ।

Advertisement

आइतबार अपराह्न प्रमाणित भएको शाक्यमुनि बुद्धको प्रतिमाको तस्बिर स्वीस अध्येता उल्रीच भोन स्क्रोडरको सन् १९८१ मा आएको ‘इन्डो–टिबेटन ब्रोन्जेज’ पुस्तकमा समेटिएको छ । बौद्धमार्गीबीच लोकप्रिय रहेको लाङ् गुम्बाको अवस्थितीबारे पहिलोपटक फोटोग्राफर निक डउग्लासले सन् १९७१ मा तस्बिर लिएका थिए । यसकै आधारमा कला अध्येता एमि हेलरको ‘हिडन ट्रिजर्स अफ द हिमालयज् : टिबेटन मेनुस्क्रिप्ट, पेन्टिङ एण्ड स्क्ल्प्चर अफ डोल्पो’ (२००९) नाममा पुस्तक प्रकाशित छ ।