August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

पाँचथरको याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित

410

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको छ । शनिवार याङवरक–६ स्थित गणेश माध्यमिक विद्यालयमा आयोजित घोषणा कार्यक्रममा जिल्ला खोप समन्वय समितिले सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेसँगै याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित भएको हो । १८ वर्षभन्दा बढी उमेरका ९६ प्रतिशत नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएको तथ्याङ्कका आधारमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्ला खोप समन्वय समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका प्रमुख रामराज आङदेम्बे र जिल्ला खोप समन्वय समितिका सदस्य सचिव एवं स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख तेजबहादुर तुम्बापोले याङवरकका अध्यक्ष भीमबहादुर योङ्या र उपाध्यक्ष बाबा मेन्याङ्बोलाई खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । याङवरक कोभिड–१९ विरुद्धको पूर्ण खोप सुनिश्चित गर्ने जिल्लाको पहिलो स्थानीय तह समेत बनेको छ ।

कार्यक्रममा अध्यक्ष योङ्याले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित बनाउन गरिएका कार्यहरु उल्लेखित प्रतिवेदन प्रस्तुत गरेका थिए । कोभिड–१९ विरुद्धको खोप प्रशस्तै प्राप्त हुन थालेपछि गाउँपालिकाले वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु, टोल विकास समितिहरु, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा कर्मचारीहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरु, शिक्षकहरु लगायतलाई परिचालन गरी १८ वर्ष माथिका सबै नागरिकलाई खोप लगाउने वातावरण तयार पारेको अध्यक्ष योङ्याले बताए ।

Advertisement

कोभिड–१९ सङ्क्रमणको महामारी याङवरकमा ६ जना गाउँपालिकावासीको ज्यान गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङदेनले जानकारी दिए ।

यस्तै सबैभन्दा बढी याङवरक–६ का ९८ प्रतिशत नागरिकलाई खोप लगाउन सफल भएको भन्दै गाउँपालिकाले याङवरक–६ स्थित नागी स्वास्थ्य चौकीलाई रु ५ लाख पुरस्कार प्रदान गर्ने घोषणा समेत गरेको छ ।