August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

बागमती नदीमा हराएका दुई बालकको शव फेला

550

काठमाडौं । रौतहटको बागमती नदीमा हराएका दुई बालकको शव फेला परेको छ । बिहीबार हराएको उनीहरुको शव शुक्रबार भेटिएको हो ।

नदीमा बेपत्ता भएको आशंकामा बिहीबार दिउँसोदेखि नेपाली सेना, सशस्त्रप्रहरी बल तथा नेपाल प्रहरीसहितको टोलीले बागमती नदीमा बालकहरुको खोजी गरेको थियो ।

सयौँ स्थानीयका साथै केही गोताखोर र सुरक्षा टोली परिचालित भएपनि बिहीबार अबेरसम्म बेपत्ता बालकहरुको बारेमा केही पनि जानकारी प्राप्त हुन सकेको थिएन । हराइरहेका बालकहरुको खोजी शुक्रबार बिहानैदेखि थालिएको थियो । केही अन्तरालमा दुवै बालकको शव बागमती नदीमा शुक्रबार फेला परेको हो ।

Advertisement

स्थानीय ज्ञानोदय बोर्डिङमा कक्षा ६ मा अध्ययनरत दुर्ग भगवती गाउँपालिका ३ मत्सरीका मनोज झाका १३ वर्षीय छोरा हर्ष झा र वडा नम्बर २ भलोहियाका गोवरी दासका १३ वर्षीय नाति आदित्य दासको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्गाभगवती गाउँपालिका ५ बागमती नदीमा निर्माणाधीन अर्को पुलको नजिक बालकहरुको शव भेटिएको हो ।

बागमती नदीको पिपरा घाटमा निर्माणाधीन पुलको सामुन्ने एउटा साइकल तथा पाठ्यपुस्तक र कपडा राखेको देखिएपछि स्थानीयले केही बालकहरु नुहाउन जाँदा बेपत्ता भएको अनुमान गरेका थिए ।

बालकहरुको शव भेटिएको र आवश्यक कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।