August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

झापामा मोटरसाइकल दुर्घटना हुँदा पाँचथरका युवाको मृत्यु

465

पाँचथर । झापाको शनिश्चरे बिर्तामोड सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको छ । दुर्घटनामा परि फिदिमका कुमार खनालको ज्यान गएको हो । मृतकको साथमा रहेको नागरिकतामा पाँचथर फिदिम नगरपालिका ५ का कुमार खनाल उल्लेख छ ।

अर्जुनधारा नगरपालिका ६ कप्तानबारी नजिकमा रहेको कल्भर्टमा दुर्घटना भएको हो । दुर्घटनास्थलमा मोटरसाइकल चालक सडकमा घोप्टो परेको अवस्थामा भेटिएका थिए । कल्भर्टमुनि उनी सवार बा. ४२ प १२८ नम्बरको होण्डाको युनिकर्न मोटरसाइकल पल्टिएको अवस्थामा स्थानीयले फेला पारेका हुन् ।

आज बिहान मर्निङ वाकमा निस्किएका मानिसहरुले सडकमा मृत शरीर र कल्भर्टमुनि मोटरसाइकल देखेर प्रहरीलाई खबर गरेको प्रहरी चौकी शनिश्चरेका इन्चार्ज प्रहरी नायव निरीक्षक रवि राईले बताए । उनका अनुसार खबर पाउनासाथ प्रहरी चौकी शनिश्चरेको टोली खटिँदा मृतकको गोजीमा फिदिम ५ घर भएका कुमार खनालको नागरिकता फेला परेको थियो । मृतक कुमार खनाल नै भएको पुष्टि भएको प्रहरीले जनाएको छ । फिदिम घर भइ हाल झापाको बुद्धशान्ति २ मा बसोबास गर्दै आएको मृतकका दिदीले पहिचान गरेको पनि प्रहरीले जनाएको छ ।

Advertisement

मृतकको अनुहारमा चोट रहेको छ । उनी दुर्घटनापछि सडकसम्म आएको अनुमान गरिएको छ । उनलाई घोप्टो परेको अवस्थामा फेला पारिएको थियो । करिब मध्यरातमा भएको दुर्घटनामा २५ वर्षीय खनालको ज्यान गएको हो ।
मृतक व्यक्तिको पहिचानपछि प्रहरीले मुचुल्का तयार पारी पोष्टमार्टमका लागि मेची अस्पताल भद्रपुर पठाउने तयारी भइरहेको छ ।