काठमाडौं : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी ठूलो दुर्घटना जोगिएको छ।
ओखलढुंगाबाट काठमाडौं फर्किने क्रममा गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कर्पियो गाडी दुर्घटनाबाट बचेको छ।
गुरुङका अनुसार ओखलढुंगाका कांग्रेस केन्द्रीय सदस्य प्रदीप सुनुवारकी श्रीमतीको निधन भएकाले परिवारलाई भेटेर फर्किंदा बिहीबार बिहान रामेछापको गोगनेमा दुर्घटनामा परेको हो ।
सडक छाडेको गाडी ढुंगाको आडमा रोकिएको उपसभापति गुरुङले जानकारी दिए। गाडीमा उपसभापति गुरुङसहित रामेछापका महाधिवेशन प्रतिनिधि रत्न कार्की, ललितपुर जिल्ला सदस्य सानुबाबु महर्जन लगायत पाँच जना सवार थिए।
गाडीमा सवार सबै जना सकुशल रहेको डोजर र ट्याक्टरको सहायताले गाडी निकालिएको उनले बताए।