August 9, 2022, Tuesday
२०७९ श्रावण २४
1:37:26 pm

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

360

काठमाडौं । छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौं, टोखा नगरपालिका–६ धापासी डाँफे कोलोनी नजिक सडकमा प्रदेश १–०२१ च २९५६ नम्बरको कार र प्रदेश २–०३५ प ०५२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका–६ धापासी बस्ने १९ वर्षीया प्रबिना नेपालको भतिज नाता पर्ने ५ वर्षीय प्रियन्स उप्रेतीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि ग्राण्डी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Advertisement

यस्तै, चितवन, कालिका नगरपालिका–५ सिमाचोकस्थित सडकमा ना.३९ प २९७१ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००७ प ५६७५ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–९ बस्ने ५० वर्षीय बल बहादुर तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरका चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सर्लाही, मलगंवा नगरपालिका–६ लखनदेई खोलास्थित सडकमा ज.१ त ३८२४ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक चन्द्रनगर गाउँपालिका–५ मोहनपुर बस्ने ३२ वर्षीय रविन्द्र साह सोनारको घटनास्थलमै मृत्यु भएको छ ।

यस्तै, धादिङ, निलकण्ठ नगरपालिका–३ ईजारास्थित भित्री सडकमा धादिङबेसीबाट जुरेथुमतर्फ जाँदै गरेको बा.१८ च २८२० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार निलकण्ठ नगरपालिका–२ जुरेथुम बस्ने ३२ वर्षीय प्रेम गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्ररहीले जनाएको छ ।

मोरङ, बेलवारी नगरपालिका–४ बेतनामा ना.६ ख ५५४४ नम्बरको ट्रकले को.२० प ७६ ४५ नम्बरको स्कुटरलाई मंगलबार राति ठक्कर दिँदा स्कुटर चालक बेलवारी नगरपालिका–५ बस्ने २६ वर्षीय बिक्रम राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।