August 12, 2022, Friday
२०७९ श्रावण २७
1:37:26 pm

पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयक विचार–गोष्ठी आयोजित

590

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागले ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयक विचार–गोष्ठीको आयोजना गरेको छ । प्रज्ञा भवनको देवकोटा सभाकक्षमा आयोजित विचार–गोष्ठीलाई सम्बोधन गर्दै कुलपति गङ्गाप्रसाद उप्रेतीले पूर्वीय विचार, ज्ञान र दर्शनबारे प्राज्ञिक जगत्मा नयाँ विमर्शको सुरुवात भएको बताए । “विश्वलाई सन्तुलनमा ल्याउनका निम्ति आज पूर्वको भूमिकाको खोजी भइरहेको छ,” उप्रेतीले भने ।

कुलपति उप्रेतीले हामीमा रहेको ज्ञानको ताकत, शक्ति र ऊर्जा उत्खनन् गर्न हाम्रै मान्छे लाग्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गर्दै भने– “२०–३० वर्षयता हामी को हौँ भन्ने खोजी भइरहेको छ । आफ्नो जग खोज्ने क्रम सुरु भएको छ । नयाँ विमर्श संसारमा सुरु भएको छ । साँच्चै ज्ञानको नयाँ सोँचको प्रादुर्भाव भएको छ । पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभावबारे आज प्रवचनकर्ता हाम्रा मानार्थ प्राज्ञ सदस्य प्रा.डा. सूर्यप्रसाद सुवेदीले गहन विचार व्यक्त गर्नुभयो । नेपाली भूमिबाट फुत्किएर नयाँ सम्मान प्राप्त गरेका छौँ हामीले । प्राध्यापक सुवेदी प्राज्ञिक गौरव हुनुहुन्छ । जसले आज ‘पाश्चात्य शासन पद्धतिको विकासमा पौरस्त्य सभ्यताको प्रभाव’ विषयमा गहन प्रवचन दिनुभयो र कार्यक्रमलाई सार्थक बनाइदिनुभयो ।”

सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले कार्यक्रमको औचित्य, कार्यक्रममा स्वागत गर्दै प्रवचनकर्ता मानार्थ प्राज्ञ सदस्य प्रा.डा. सूर्यप्रसाद सुवेदीको व्यक्तित्वमाथि प्रकाश पारेका थिए । उनले बेलायतमा बस्ने प्रा.डा. सुवेदी कानुनका क्षेत्रमा नेपालका साथै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्यातिप्राप्त व्यक्तित्वका रूपमा सर्वत्र प्रसिद्ध रहेको बताए । उनले भने– “प्रा.डा. सुवेदीलाई नेपाल प्रज्ञा–प्रतिष्ठानले ३५औँ प्राज्ञ सभाको बैठकबाट मानार्थ प्राज्ञ सदस्यमा मनोनित गरेको थियो । पौरस्त्य र पाश्चात्य शासनपद्धतिबारे विज्ञता राख्नुहुने बहुआयामिक व्यक्तित्व प्रा.डा. सुवेदीले कानुनसँग सम्बन्धित र मानव अधिकारका निम्ति प्राज्ञिक योगदान गर्दै आउनुभएको छ । नेपालको गौरव र प्रतिष्ठालाई विश्वमा उँचो राख्न महत्वपूर्ण भूमिका खेल्नुभएका मानार्थ प्राज्ञ सदस्य प्रा.डा. सुवेदीले गर्नुभएको प्रवचन सम्बन्धित सबैका लागि लाभदायी भएको मैले ठानेको छु ।”

Advertisement

कार्यक्रमका सभाध्यक्ष एवम् सामाजिक शास्त्र विभागका प्रमुख इतिहासविद् प्राज्ञ प्रा. दिनेशराज पन्तले नेपालका विभिन्न कालखण्डमा राजनीतकि क्रान्ति भएता पनि बौद्धिक क्रान्ति हुन नसकेको विचार व्यक्त गरे । उनले भने– “आज माथिल्लो ज्ञानको बहस भएको छ । यसअघि नेपालमा राजनीतिक क्रान्तिमात्र भएको छ । विद्यामा क्रान्ति भएको छैन । साँच्चै भन्नुपर्दा सोह्रौँ र सत्रौँ शताब्दीदेखि पूर्वीय सभ्यताको अध्ययन भएको छैन ।”

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता मानार्थ प्राज्ञ सदस्य प्रा.डा. सूर्यप्रसाद सुवेदीले मनुस्मृति संशोधन हुनुपर्ने बताए । “नेपालको शासन पद्धति मनुस्मृतिमा आधारित छ,” उनले भने– “मनुस्मृति संशोधन हुनुपर्छ, त्यसनिम्ति विद्वद् मण्डली खडा गर्न जरुरी छ ।” उबले प्रवचन गर्दै हिन्दु धर्म जात व्यवस्थाकै कारण सबैभन्दा धेरै आलोचित रहेको सुवेदीले उल्लेख गरे । उनले भने– “हिन्दु धर्ममा जात व्यवस्था छ र त्यो व्यवस्था नै मानव अधिकारको बर्खिलाफमा छ । हिन्दु धर्ममा मनुस्मृति र कौटिल्यले जात व्यवस्थालाई बढी जोड दिए र आफ्नो शासन व्यवस्थालाई बलियो पार्ने काम गरे । जात व्यवस्थालाई बढी सङ्गठित गरे । त्यसैले अब मनुस्मृतिको संशोधन हुनुपर्छ ।”

उनले बेलायतले नयाँ आधुनिक विकास क्रममा लिखित रूपमा १२१५ मा म्याग्नाकार्टा जारी गरेपछि मानव अधिकारको चर्चा सुरु भएको मानिने बताए। संयुक्त राष्ट्रसंघ स्थापना भएर १९६५ मा मानव अधिकार घोषणापत्र जारी भएपछि यो मुद्दा थप पेचिलो बनेको उनको धारणा थियो । विभिन्न मुलुकमा रङ्गभेद र जाति भेदविरुद्ध सशक्त आवाज उठेको र त्यसमा पूर्वीय दर्शनको प्रभाव रहेको प्रा.डा. सुवेदीको दाबी थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सचिव महेश्वर न्यौपानेले नेपालमा शासनप्रणाली अब नयाँ शिराबाट सञ्चालन हुनुपर्ने विचार व्यक्त गरे। उनले कार्यक्रम अत्यन्त लाभदायी भएको विचार व्यक्त गरे ।

कार्यक्रममा प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव, मानार्थ प्राज्ञ सदस्य प्रा.डा. वीरेन्द्रकुमार मिश्र, पूर्व न्यायाधीश शिवराज अधिकारी, पूर्व राजदूतद्वय हिरण्यलाल श्रेष्ठ, मोहनप्रसाद लोहनी, प्रा.डा. देवीप्रसाद सुवेदी, प्राज्ञ सभा सदस्य रमा शर्मा, आजीवन सदस्य मञ्जु काँचुली, दीपेन्द्र अधिकारी र रामबहादुर पहाडीले प्रवचनमाथिको छलफलमा आ–आफ्ना विचार राखेका थिए ।

कार्यक्रम प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सहजीकरण गरेका थिए ।