August 12, 2022, Friday
२०७९ श्रावण २८
1:37:26 pm

पाँचथरको याङवरक चारमा वडाध्यक्षसहित प्यानलै गठवन्धनको पोल्टामा

3.3K

पाँचथर । स्थानीय निर्वाचनको परिणामहरु धमाधम आइरहँदा प्रदेश १ पाँचथर जिल्लाको उत्तरी गाउँपालिका याङवरक वडा नम्बर ४ को नतिजा प्रकाशित भएको छ । प्राप्त नतिजा अनुसार गठवन्धनको तर्फबाट नेपाली काँग्रेसका सविन माबो ७८२ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्धन्दी नेकपा एमालेका नरबहादुर दहालले भने ६५९ मत ल्याए ।

वडा सदस्यहरुमा खुल्ला महिलातर्फ ममता कुमारी सिवाकोटी (७२७ मत), दलित महिलातर्फ मेनुका बराइली (६९९ मत), र खुल्ला दुई सदस्यका लागि नारायणप्रसाद न्यौपाने (६६६ मत) र प्रेमराज सुवेदी (६६३ मत) ल्याएर विजयी भएका छन् ।

जम्मा १४,२०६ मतदाताहरु रहेको याङवरक गाउँपालिकाका छ वटा वडाहरुमध्ये वडा नम्बर १ (साविक च्याङथापू) र वडा नम्बर ३ (साविक अन्याम) मा नेकपा एमालेले विजय हात पारेको छ भने वडा नम्बर २ (साविक फलैंचा) र वडा नम्बर ४ (साविक थर्पू) मा गठवन्धन पक्ष विजयी भएका छन् ।

Advertisement

याङवरक गाउँपालिकाको अध्यक्षका लागि गठवन्धनको तर्फबाट नेकाका मविन्द्र योङया (२४३४ मत) लिएर एमालेका भिम योङया (२२०८ मत) भन्दा २२६ मतले अघि छन् ।

त्यस्तै उपाध्यक्षका लागि गठवन्धन (माओवादी केन्द्र) कै अर्जुनकुमार बेघा (२२२९ मत) का साथ एमालेका बाबा मेन्याङबो (२०८४ मत) लाई उछिनिरहेका छन् ।

गाउँपालिका नेतृत्व कसको हातमा जाने भन्ने निधो अब वडा नम्बर ५ (साविक दारिम्बा–सिरिसे) र वडा नम्बर ६ (साविक नागी) ले गर्नेछ ।

नेकपा एमालेको नेता गणेशकुमार काम्बाङको गृहपालिका याङवरक सामान्यतया नेकपा एमालेकै गढ मानिएपनि चुनावी तालमेलबाट यस पटकको नतिजा गठवन्धनकै पक्षमा जाने प्रक्षेपण गरिएको छ ।