शारदा भुजेल, दोहा । नेपाल पत्रकार महासंघ (एफएनजे) कतार शाखाले आइतबार नेपाली राजदूतसंग भेट गरेको छ ।
शाखाका अध्यक्ष करिम वक्स मियाको टोलीले नेपाली दूतावासका कार्यवाहक राजदूत लक्ष्मण खनाल, द्वितीय सचिव प्रविण भट्टराई र सहचरी सन्दीप सापकोटासंग भेट गरेको हो ।
महासंघको कतार शाखाले भेटघाटमा कार्यसमितिका पदाधिकारीहरुको विवरण साथै ज्ञापनपत्र नेपाली दूतावासका कार्यवाहक राजदूत खनाललाई बुझाएको थियो ।
भेटघाटमा कार्यवाहक राजदूत खनालले पत्रकार महासंघले कतारमा रहेका पत्रकारहरुलाई एकिकृत गरेर सूचना सम्प्रेषणमार्फत भूमिका खेल्दै नेपाली समुदायलाई सचेत गराउने कार्य गरेकोमा प्रशंसा गरे । उनले कतारको नियम कानूनको परिधिमा रहेर कलम चलाउन आग्रह गरे ।
कार्यक्रममा महासंघका सचिव ढाकाराम पौडेल (अर्जुन) ले ज्ञापनपत्र पढेर सुनाएका थिए भने अध्यक्ष मियाँले ज्ञापनपत्रमाथि प्रकाश पार्दै नेपाली नियोगको साथ, सहयोग र सहकार्यको लागि आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघ कतार शाखा अध्यक्ष मिया, सल्लाहकार क्रान्ति सिंह, रामप्रसाद पराजुली, अनुशासन विभाग संयोजक दीपजंग शाह, कार्यसमिति उपाध्यक्ष दिलकुमार श्रेष्ठ, सचिव पौडेल, सहसचिव दिलिप पराजुली, कार्यसमिति सदस्य खेम सुवेदीलगायतले आम श्रमिकको समस्याबारे जानकारी गराउँदै सहजीकरणको लागि दूतावासलाई अनुरोध गरेका थिए ।