जनकपुरधाम : धनुषा प्रहरीले जनकपुरधामस्थित सिटिइभिटीको परीक्षा केन्द्रबाट बिहीबार दुईजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ बस्ने २२ वर्षीय रामकृष्ण साह र सर्लाहीको ब्रह्मपुरी गाउँपालिका-२ बस्ने २० वर्षीय लक्ष्मीनारायण झा रहेका छन्।
सिटिइभिटी बोर्डबाट सञ्चालित परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको विशेष टोलीले जनकपुरधाम उपमहानगरपालिका-१ स्थित मोनाष्टिक आवासीय विद्यालयको परीक्षा केन्द्रमा ‘प्रि डिप्लोमा इन सर्भे इन्जिनियरिङ’को परीक्षामा परीक्षार्थी लक्ष्मीनारायण झाको ठाउँमा रामकृष्ण साहले परीक्षा दिइरहेको अवस्थाबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले बताए।
साथै नक्कली परीक्षार्थी खडा गर्ने लक्ष्मीनारायण झालाई समेत सोही परीक्षा केन्द्रको वरिपरि घुमिरहेको अवस्थामा पक्राउ गरी दुबैजनाउपर शिक्षा ऐनअन्तर्गत म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।