February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता 

3K

पूर्वी नवलपरासी — किशोरी बलात्कारको अभियोगमा अनुसन्धानमा रहेका अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहीबार मुद्दा दर्ता भएको छ । 

किशोरीले आफूलाई एक वर्षअघि गैंडाकोटको होटलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन् । ती किशोरीको उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता गरेको हो ।

किशोरीले गत चैत ७ गते एउटा गीतको सुटिङको क्रममा गैंडाकोटमा राति बलात्कार गरेको भन्दै गैंडाकोट प्रहरीमा तीनसाता अघि उजुरी गरेकी थिइन् । एकैदिन सकिने छायांकनलाई दुई दिन लगाई राति रक्सी खुवाएर बलात्कार गरेको आरोप ती युवतीको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालयका अुनसार कावासोतीस्थित सरकारी वकिलले शाहलाई १२ वर्षदेखि १४ वर्षसम्म कैद सजाय र किशोरीलाई क्षतिपूर्ति दिनपर्ने माग दाबी गर्दै मुद्दा गर्दा गरेको हो ।

अभियोगका आधारमा एक वर्षभित्र मुद्दा दर्ता गरिसक्न पर्ने कानुनी व्यवस्था छ । त्यसैअनुसार ४ दिनअघि नै अदालतमा मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि उनै किशोरीले बलात्कारसम्बन्धी उजुरी दिएकी छन् । तनहुँभन्दा पहिला यहाँको अदालतमा मुद्दा दर्ता भएका कारण र घटना एउटै प्रकृतिको भएकाले एउटै अदालत (तनहुँ र पूर्वी नवलपरासी) मा मुद्दा आउन सक्ने प्रहरीको भनाइ छ । ‘समान प्रकृतिको मुद्दा भए एउटै जिल्ला अदालतमा हेर्ने चलन पनि छ । यो अदालतको तजबिजको कुरा भयो,’ प्रहरी स्रोतले भन्यो ।