March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

मिथिला माध्यमिकी परिक्रमाका यात्री जनकपुर आइपुगे

4.6K

जनकपुरधाम : तराई/मधेशको सबैभन्दा लामो दूरीको धार्मिक पदयात्रा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका तीर्थयात्री आज (बिहीबार) जनकपुरधाम आइपुगेका छन्।

बुधबार १४औँ विश्रामस्थल भारतको विशौलमा रात्रि विश्रामपछि परिक्रमाका यात्री जनकपुरधाम आइपुगेका हुन्। आज राति परिक्रमा यात्रीहरू जनकपुरधाममै विश्राम गर्ने र शुक्रबार बिहान जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर आ–आफ्नो घर फर्कनेछन्।

त्रेता युगमा जानकीसँग अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामसँग विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मिथिला माध्यमिकी परिक्रमामा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन्। 

Advertisement

नेपाल तथा भारतको साझा सांस्कृतिक महत्त्वको मिथिला माध्यमिकी परिक्रमा दुवै देशका १५ स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल-भारतको १३३ किलोमिटरको दूरी भजन कीर्तनसहित तय गर्ने गरेका  हुन्।

परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि यस परिक्रमामा सहभागी हुनुपर्ने धार्मिक मान्यता छ।

परिक्रममा सहभागीलाई परिक्रमा मार्ग तथा हरेक विश्रामस्थलमा धार्मिक मेला, कथा प्रवचनका साथै भक्तजनहरूले विभिन्न प्रकारका सेवा तथा सुविधा तीर्थयात्रीलाई प्रदान गर्ने गरेका छन्।

फागुन शुक्लपक्ष प्रतिपदाबाट सुरु भएको यो परिक्रमा पूर्णिमाका दिन अन्तरगृह परिक्रमा सकेपछि सम्पन्न हुन्छ। 

अन्तिम दिन जनकपुरधामको पञ्चकोशी अन्तरगृह परिक्रमा नगरेको खण्डमा १५ दिनको परिक्रमाको फल प्राप्त नहुने जनविश्वासका साथ अनिवार्य रूपमा तीर्थयात्री अन्तरगृह परिक्रमामा सहभागी हुने गरेका छन्।

धनुषाको कचुरीबाट मिथिला बिहारी मन्दिरबाट निस्केको राम-सीताको डोला जानकी मन्दिरमा दर्शन गराएर जनकपुरधामको दक्षिणी ढोकामा रहेको हनुमानगढी पुगेपछि परिक्रमाको विधिवत् शुरुवात हुने परम्परा छ।

बृहत्, मध्य र अन्तरगृह गरी तीन प्रकारका परिक्रमा गरिन्छ। माध्यमिकी परिक्रमामा रुचि राख्नेहरूको संख्या अहिले पनि उल्लेखनीय रहेको हो। डोलामा पछि-पछि परम्परागत बाजागाजा, झाँकी कीर्तनसहितका मौलिक पहिरनमा लाखौँ नरनारी सहभागी हुने गर्छन्। लावा लस्कर सहितका मिथिलाको चारै स्थानमा रहेका धार्मिकस्थलको परिक्रमा गर्ने गरेका छन्।