काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा जब सेन्टर स्थापना गरी विभिन्न कम्पनीमा जागिर लगाइदिने बहानामा ठगी गर्ने २ जना महिलासहित ९ जना पक्राउ परेका छन्। पीडितहरूले जागीर लगाइदिने बहानामा रकम असुलेर ठगेको भन्दै दिएको उजुरीपछि प्रहरीको विशेष टोलीले आइतबार राजधानीका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो।
विभिन्न नाममा जब प्लेसमेन्ट खोलेर रकम असुल्ने ९ जनालाई प्रहरीले कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र बालाजु पठाएको छ।
पक्राउ पर्नेमा अर्घाखाँचीका अमर पाण्डे र तिलकराम पाण्डे, लमजुङका आनन्द मरहठ्ठा, सिराहाका विवेक यादव, ओखलढुङगाका अश्विन राई, सिन्धुलीका घनश्याम पहाडी, रौतहटकी सृजना लामिछाने, मोरङकी ज्ञानु न्यौपाने र रौतहटका रामवचन कुमार यादव छन्।
प्रहरीका अनुसार अनुसन्धानबाट जब सेन्टरहरूले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट घरमै बसेर जागिर पाइन्छ भनि प्रचारप्रसार गर्ने गरेका थिए। जागिरका लागि ती जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरूलाई फारम भर्न लगाउने र फारम भरेको ३ सयदेखि ५ सयसम्म तथा जब ग्यारेन्टी शुल्क भन्दै १ हजारदेखि ६ हजार रूपैयाँसम्म असुल्ने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार फारम भरेकाहरूलाई शर्त बमोजिम काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिए बमोजिम तलब र सुविधा नदिई केही समयमै जागिर छाड्न बाध्य बनाउने गरेका थिए।
कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईंको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाएर त्यहाँसमेत फारम शुल्क असुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।