March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

मापसे जाँच गर्न प्रहरीले नियन्त्रणमा लिएका युवाको मृत्युपछि सुर्खेत तनावग्रस्त

२०७८ फाल्गुन २१

2K

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीले नियन्त्रणमा लिएको एक युवाको मृत्यु भएको छ । युवाको मृत्युपछि आक्रोशित आन्दोलनकारीले प्रहरी कार्यालय तोडफोड गरेका छन् भने सरकारी कार्यालयहरुमा पनि क्षति पु¥याएका छन् ।

शुक्रबार राति भे १ क ९२२ नम्बरको ट्रक बाँकेको नेपालगन्जबाट सुर्खेत आउँदै गर्दा कालीकोट तिला गुफा नगरपालिका नाग्म बजारका व्यापारी ३२ वर्षीय मिनी हमाल, ट्रक चालक र सहचालकलाई सुर्खेत प्रहरीले मादक पदार्थ सेवन गरेको भन्दै नियन्त्रणमा लिएको थियो । तीमध्ये हमालको मृत्यु भएपछि वीरेन्द्रनगरमा आन्दोलन उठेको हो ।

परिवार, आफन्तसहित आन्दोलनकारीले प्रहरीको निर्घाट कुटाइबाट हमालको मृत्यु भएको भन्दै दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने माग राखेका छन् । शव अहिले सुर्खेत अस्पतालमा छ ।

Advertisement

प्रहरीले मृतकलाई सुर्खेतको सुब्बाकुनाबाट नियन्त्रणमा लिई मादक पदार्थ सेवन गरे/नगरेको जाँच गर्न सुर्खेत अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको दाबी गरेको छ । तर स्थानीयले शवमा नीलडाम देखिएको भन्दै प्रहरीको कुटाइबाट मृत्यु भएको आरोप लगाउँदै आएका छन् । अस्पतालले भने यस घटनाबारे विज्ञप्ति जारी गर्दै मृत्यु भइसकेको अवस्थामा हमाललाई अस्पताल ल्याइएको जनाएको छ ।

अहिले मृतकका आफन्त र स्थानीयले अस्पताल नजिक जम्मा भएर आन्दोलनका गरिरहेका छन् । उनीहरूले शनिबार दिउँसो करिब १ बजेदेखि वीरेन्द्रनगरमा आन्दोलन जारी राखेका हुन् ।

आन्दोलन हिंसात्मक बन्ने खतराले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी पदम विष्टले घटनाबारे अनुसन्धान भइरहेको जनाए ।