November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

म्याग्दीमा स्थानीय तहका सवारीसाधनको दुरूपयोग

2.5K

म्याग्दी : म्याग्दीका स्थानीय तहमा जनप्रतिनिधि तथा सरकारी कर्मचारीले सेतो नम्बर प्लेटका सवारीसाधनको व्यापक दुरूपयोग गरेको पाइएको छ। स्थानीयको घरदैलो पुगेर सरल र सहज सेवा दिन, प्रशासनिक काम चुस्तदुरुस्त तथा विभिन्न सरकारी कार्यक्रममा प्रयोग गर्नुपर्ने सरकारी सवारीसाधन व्यक्तिगत र राजनीतिक गतिविधिमा प्रयोग हुने गरेको हो।

कार्यालयको नियमित प्रयोजनमा मात्र प्रयोग हुनुपर्ने चारपांग्रे र दुईपांग्रे सवारीसाधन जनप्रतिनिधि र कर्मचारीले र राजनीतिक तथा आफ्नो आवश्यकताअनुसार मनपरी प्रयोग गरिरहेका छन्। व्यक्तिगत, पार्टी अधिवेशन तथा बैठक, चुनावी प्रचारप्रसारका साथै पार्टीनिकट व्यक्ति र आफन्तलाई ओर्सानसमेत गलत नम्बर प्लेट हालेर जनप्रतिनिधिले सवारीसाधनको चरम दुरूपयोग गरेका छन्।

नेपाली कांग्रेसको बेनी नगरपालिका–४ डाँडाखेतमा शनिबार आयोजित कार्यक्रममा रघुगंगा गाउँपालिकाको सवारीसाधन प्रयोग भएको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भयो। पार्टी गतिविधिमा फरक स्थानीय तहको सवारीसाधनको दुरुपयोग भएको भन्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले निकै आलोचना गरे। व्यक्तिगत र पार्टी गतिविधिमा स्थानीय जनप्रतिनिधिले सवारीसाधन दुरुपयोग गरेका गुनासा वेला–वेलामा सार्वजनिक हुने गरेको छ। रघुगंगा गाउँपालिकाका अध्यक्ष भबहादुर भण्डारीले असावधानीपूर्वक सवारीसाधन प्रयोग भएको स्वीकारे।

Advertisement

केही समयअगाडि नेकपा एमालेको १० औ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन गएका एमालेका जनप्रतिनिधिले समेत पालिकाको सवारीसाधन प्रयोग गरे। चितवनमा मंगला र  धवलागिरी गाउँपालिकाका जनप्रतिनिधिले गाउँपालिकाको सवारीसाधन प्रयोग गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो।