काठमाडौं : सरकारले सुदूरपश्चिमका चारसहित विभिन्न जिल्लाका पाँच स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
गृह मन्त्रालय अन्तर्गतकाे विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको सिफारिसमा सरकारले सुदूरपश्चिम प्रदेशका चार तथा प्रदेश १ को एक स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। संकटग्रस्त क्षेत्र २०७९ वैशाख मसान्तसम्म लागू हुने मन्त्रालयले जनाएकाे छ।
विपद् संकटग्रस्त क्षेत्र घोषणा हुनेमा चारवटा गाउँपालिका र एक नगरपालिका रहेका छन्। मन्त्रालयका अनुसार सुदूरपश्चिममा डोटीको शिखर गाउँपालिका, डडेल्धुराको भागेश्वर गाउँपालिका र अजयमेरु गाउँपालिका, दार्चुलाको नौगाड गाउँपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिकालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।
बाढी, पहिरोलगायतका विपद्बाट ठूलो मानवीय क्षती भएको र ती स्थानीय तह बढी प्रभावित भएकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको मन्त्रालयले जानकारी दिएकाे छ। ती स्थानीय तहमा पुगेको क्षतीको पुन:निर्माण तथा पुन:स्थापनाको काम, घर तथा सडक तथा विद्यालय निर्माणको काम गरिने जनाइएकाे छ।
