कञ्चनपुर : विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बेलडाँडी गाँउपालिका वडा नं. २ का वडाध्यक्ष प्रेम खातीलाई आज (बिहीबार) कालोमोसो दलेका छन्। नेकपा आबद्ध युवा संगठन नेपालका कार्यकर्ताले वडाध्यक्ष खातीमाथि विभिन्न आर्थिक अनियमितताको आरोप लगाउँदै कार्यकक्षमै कालोमोेसो दलेका हुन्। वडाध्यक्ष खातीलाई कालोमोसो दलेपछि संगठनले विज्ञप्ति प्रकाशित गरी विभिन्न आर्थिक अनियमिततामा मुछिएकाले उनीमाथि जनकारबाही गरिएको सार्वजनिक गरेको छ।
युवा संगठन कञ्चनपुरका अध्यक्ष विकल्पले सार्वजनिक गरेको विज्ञप्तिमा वडा भवनको भाडा, मनोमानी कर्मचारी नियुक्ति, कालिकिच तालमा उपभोक्ता समितिको कार्यालयदेखि क्याम्पसम्म सडक निर्माणमा अनियमितता, बसपार्कको २७ ट्रिपर गिट्टी बालुवा २७ टिप्पर बेचेको, एकल महिलाका लागि निर्माण गरिएको २८ लाखको चारकोठे भवनमा अनियमितता गरेको, उपभोक्ता समिति एकलौटी बनाएको र साना किसान लघु वित्त संस्थालाई जमिनसहित १५ लाख दिने निर्णय गरेकोलगायत आरोप लगाएका छन्।
खाती एमालेबाट निर्वाचित भएका हुन्। उनी एमालेका बेलडाँडी गाउँ कमिटीका उपाध्यक्षसमेत हुन्। उनले सहकारी योजनाको कुरा गर्न कार्यकक्षमा आएको समूहले अचानक मोसो दलेको बताए। ‘अचानक ७/८ जना काम छ भन्दै भित्र आए, कोठामा पुग्दा सहकारी योजनाको कुरा गर्ने क्रममा मोसो फालेर गए,’ उनले भने।
मोसो दलेर जानेहरूलाई आफूलाई नचिनेको अध्यक्ष खातीले बताए। ‘मैले कसैलाई चिनिन्, उनीहरू स्थानीय होइन,’ उनले भने, ‘ममाथि लगाइएका आरोप निराधार हुन्, ममाथि राजनीतिक प्रतिशोध साँधियो।’ उनले आफूमाथि लगाएका सबै आरोप निराधार भएको उल्लेख गर्दै गल्ती गरेको भए कानुनअनुसार सजाय भोग्न तयार भएको बताए।