काठमाडौं : वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन्। अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भिजिट भिसा समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो आग्रह गरेका हुन्।
पछिल्लो समय भिजिट भिसामा वैदेशिक रोजगारीका लागि जाने क्रम बढ्दो छ। जसका कारण विभिन्न मुलुकमा पुगेर अलपत्र परेको भन्दै यसलाई राेक्नुपर्ने प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्कीले बताए।
पछिल्लो समय विभिन्न प्रलोभन देखाएर भिजिट भिसामा युवाहरू ओसार्ने प्रवृत्ति बढेको बताए। यसरी विदेश जानेहरू समस्या पर्नुका साथै विभिन्न सेवा सुविधाबाट वञ्चित हुने गरेको उनको भनाइ छ।
यसरी विदेशमा बसेका श्रमिक महामारीको समयमा अझ समस्यामा पर्ने गरेका छन्। यसैले भिजिट भिसालाई नियन्त्रण गर्न नसके उक्त समस्या आगामी दिनमा आइरहने उनको भनाइ छ।
कार्यक्रममा बोल्दै एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठनका महासचिव मधुकर रिजालले भिजिट भिसामा जाने कामदारलाई सचेतनाको आवश्यक रहेको बताए।