January 24, 2022, Monday
२०७८ माघ १०
1:37:26 pm

प्रज्ञा–प्रतिष्ठानले नेपाली दर्शनहरूको अध्ययन, अनुसन्धान र संरक्षणका लागि दर्शनशास्त्र विभाग नै खडा गरेर काम गरिरहेको छ: गङ्गाप्रसाद उप्रेती

370

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, दर्शनशास्त्र विभागद्वारा अन्तर्राष्ट्रिय दर्शन दिवस–२०२१ का अवसरमा बिहीबार ‘वर्तमान सन्दर्भमा मानवतावादको महत्त्व’ विषयक विचार–गोष्ठी तथा कृति विमर्श कार्यक्रमको आयोजना गरियो ।


कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाल हिमवत् खण्डमा रहेको र यसको गरिमालाई विश्वका विद्वान्ले राम्ररी बुझेर लेखे पनि व्याख्याचाहिँ इन्डियन फिलसफी भनेर गरिने गरेको पाइने बताए । उनले भने– “हाम्रो दर्शनसम्बधी पहिचान विश्वलाई चिनाउनका लागि हामी आफैँले केही नगरी हुन्न । अरुले त एसिया र साउथ एसियामात्र भनिदिन्छ । हाम्रा आदिवासी पुर्खाहरूले प्रतिपादन गरेका, प्रवद्र्धन गरेका दर्शन नेपाल राष्ट्रसँग जोडिएका छन् । नेपाली दर्शनहरूको अध्ध्यन, अनुसन्धान, संरक्षण र प्रवर्धनका लागि प्रज्ञा–प्रतिष्ठानले दर्शनशास्त्र विभाग नै खडा गरेर काम गरिरहेको छ ।”


कुलपति उप्रेतीले भने– “नेपालका दर्शनहरू के–के हुन् ? तिनको खोज–अन्वेषण र प्रवर्धनका निम्ति दर्शनशास्त्र विभाग निरन्तर जारी छ । यसका विभिन्न विद्वान् संलग्न हुनुहुन्छ । नेपाली दर्शनको उद्गम स्थल नेपालमा नेपाली दर्शनको खोजी गर्ने धेरै महत्त्वपूर्ण कामहरू यस विभागबाट भइरहेका छन् । यी कार्यहरू नेपालकै गौरव हुन् ।” उनले नेपाल मानवतावादी दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै आज वर्तमान सन्दर्भमा मानवतावादी दर्शनको महत्त्वमाथि केन्द्रित रहेर कार्यक्रम आयोजना गरिएको विचार व्यक्त गरे ।

Advertisement


कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै सदस्य सचिव तथा दर्शनशास्त्र विभागका प्रमुख प्रा. जगत्प्रसाद उपाध्यायले सन् २००२ बाट युनेस्कोले अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउने घोषणा गरेको र संयुक्त राष्ट्रसंघको महासभाले २००५ मा निर्णय गरेपछि यो दिवस मनाउन थालिएको उल्लेख गरे । उनले विश्वमा दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान गरेका दार्शनिकहरूको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय दर्शन दिवस मनाउने परम्परा बसालिएको बताए । उनले अहिलेको समाजमा धनको प्रभाव र धनको अभावमा रहेको उल्लेख गर्दै युद्ध, आन्तरिक द्वन्द्व, रंग विभेद र जाति विभेद कायमै रहेकाले मानवतावादी दर्शनको महत्त्व अझ धेरै रहेको विचार व्यक्त गरे । उनले भने– “अहिलेको विश्वमा मानवतावादी दर्शनको विशिष्ट महत्त्व रहेको छ ।”


‘वर्तमान सन्दर्भमा मानवतावादी दर्शनको महत्तव’ विषयमा प्रज्ञा–प्रतिष्ठानका मानार्थ प्राज्ञ तथा वरिष्ठ दर्शनशास्त्री प्रा.डा. वीरेन्द्रप्रसाद मिश्रले प्रवचन दिएका थिए । सो अवसरमा प्रा.डा. मिश्रले भने– “आजको युग न साम्यवाद हो, न समाजवाद । यो मानवतावादको युग हो । सन् १९५९÷६० बिहारमा पढ्थेँ । संजोगले एमए पास गरेपछि पीएचडी स्कलरसिप पाएँ । म जागीरको अवसर छाडेर पीएचडी गर्न गएँ । छात्रवृत्तिमा गएको थिएँ, कोलम्बो प्लानमा । चिठी थमाइदियो, शिक्षा मन्त्रालयले । बिहे भइसकेको थियो । म साउथ इन्डिया जागीरमा गएँ । म उकुसमुकुसमा थिएँ । नेपालमा आएर ६ वर्ष लाग्यो । त्रिचन्द्र क्याम्पस ज्वाइन गरेँ । मेरो मनोनयन निर्वाचन आयोगमा भयो । आयोगमा नयाँ कुरा राख्न नपाउने । मैले कान्तिपुर दैनिकमा निर्वाचनसम्बन्धी लेख लेख्न थालेँ” उनले थपे– “दर्शनशास्त्रको विषयले बेरोजगारी बढाउँछ भन्थे तर आफ्नो विचार दिन लेख दिन थालेँ । आफ्नो विचारलाई सही बनाऊँ । व्यक्तिको अभिष्टको पूर्ति गर्न मलाई दबाब थियो । पाकिस्तानकी बालिका मलालाले चुनौती दिइन्, समाजको परिवर्तनका लागि । युरोपकी महिला जो आज हराइरहेको छ कि विश्व वातावरण खतरामा छ भनिरहिन् । यो मानवको विकासका लागि उसले अवसर पाउनु पर्छ । आफ्नो भाग्यरेखा कोर्ने, जीवनको अस्तित्व बचाउने वातावरण चाहियो । डेमोक्रेसी चाहियो । मानवतावादको मोटिभेसन करुणा हो । क्षमता छ तर अवसर पाएको छैन । अमूर्तिकरण सिद्धान्त होइन ।”


उनले मुलुकलाई आकार दिनका लागि मानवतावाद चाहिने बताउँदै भने– “ मूर्तिकारले जब मूर्ति बनाउँछ र आकार दिन्छ । भानुभक्त आचार्य, कालिदासलाई आकार दिने, पूर्णता दिने नै मानवतावाद हो । हामीले ज्ञानविज्ञानको आधारमा सोच्नुपर्छ । हामी पनि बाँच्नु पर्छ र प्रकृतिलाई बचाउनु पर्छ । मानिसमा साहस, ज्ञान र धैर्य जोडिन्छ । मानवलाई पूर्णरुपमा सशक्तिकरण गर्ने काम मानवतावादले गर्ने हो ।”
सभाका अध्यक्ष एवम् प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागका प्रमुख प्रा. दिनेशराज पन्तले वर्तमान परिप्रेक्षमा मानवतावादको विशेष महत्तव रहेको उल्लेख गरे । उनले हाम्रा पितापुर्खाको विरासत थाम्नै मुस्किल भइरहेको उल्लेख गर्दै हाम्रा ग्रन्थहरुमा पनि मानवतावादका बिजहरू पाइने बताए । पूर्व मेचीदेखि कालीसम्मका हाम्रो हो तर दर्शनको सीमा फराकिलो छ । हाम्रा चिजमा अरुले अधिकार जमाएका छन् । हाम्रो अध्ययन, अनुसन्धान कम भएकाले अरुको हात लम्किएको छ तर अब त्यासे गर्न दिनुहुन्न ।”


कार्यक्रममा कुलपति उप्रेतीले प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित तथा गोपीरमण उपाध्यायद्वारा लिखित ‘वैदिक साम्यवाद र वैज्ञानिक समाजवादको तुलनात्मक अध्ययन’, समीर सिंहद्वारा लिखित ‘साङ्ख्य दर्शन र माक्र्सवाद’ तथा प्रा. जगत्प्रसाद उपाध्याय र विष्णु प्रभातद्वारा सम्पादित ‘दर्शनावली’ भाग–८ का साथै प्राज्ञ परिषद् सदस्य प्रा.डा. उषा ठाकुरद्वारा लिखित तथा डा. रामभक्त ठाकुरद्वारा प्रकाशित ‘नेपाली साहित्य सर्वेक्षण र समीक्षा’ नामक पुस्तकको लोकापर्ण गर्नुभएको थियो । लोकार्पित पुस्तकमाथि विष्णु प्रभात र त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख वेदराज ज्ञवालीले बोलेका थिए ।


कार्यक्रम प्राज्ञ सभा सदस्य शशी लुमुम्बूले सहजीकरण गरेका थिए ।