काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) र नेकपा (माले) का बिच आज काठमाण्डौंमा वृहत कम्युनिष्ट एकताको आवश्यकता र साम्यवादी लक्ष्यका विषयमा गम्भिर छलफल भएको छ । नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) र नेकपा (माले) का महासचिव चन्द्रप्रकाश मैनाली (सी.पी.) बिच भएको भेटवार्ताका क्रममा त्यस्तो छलफल भएको हो ।
दुई पार्टीका महासचिवहरुको भेटवार्ताको क्रममा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) ले अघि सारेको ‘माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ लगाएत साम्यवादी लक्ष्य प्राप्तिको बाटो, कम्युनिष्ट पार्टीहरुको विभाजन, एकता र रुपान्तरणको अवस्था, आजको नेपाली समाजमा क्रान्तिको मोडेल लगाएत तमाम विषयमा गहन छलफल भएको थियो । उक्त छलफलमा माओवादी केन्द्र (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा प्रेस सेन्टर नेपालका अध्यक्ष मनराज कठायतको समेत सहभागिता रहेको थियो ।
भेटवार्ताका क्रममा बोल्दै मालेका महासचिव मैनालीले माओवादी केन्द्र (क्रान्तिकारी) ले छलफलका लागि अघि सारेका विषयवस्तु नेपाली क्रान्तिकारी आन्दोलनको लागि अति सान्दर्भिक र महत्वपूर्ण रहेको भन्दै आफ्नो पार्टीले लिएको क्रान्तिको बाटो र वृहत कम्युनिष्ट एकताको आधारहरुबारे आफ्नो भनाई राखेका थिए ।
त्यसैगरी माओवादी केन्द्र (क्रान्तिकारी) पार्टीका महासचिव लोकेशले संसदीय राजनीतिबाट सामाजिक रुपान्तरणको अभियानमा लागेका कम्युनिष्ट पार्टीहरु संसदवादको दलदलमा फसेको तथा क्रान्तिकारी योजनामा जुटिरहेका कम्युनिष्ट पार्टीहरुले पनि विचार, संगठन र संघर्षमा अपेक्षा गरिएअनुसार विकास गर्न नसकेको अवस्थाबारे आफ्नो विचार राख्दै आम परिवर्तनकारी शक्ति तथा कम्युनिष्टहरु एक भएर मात्र वर्तमान दलाल संरचनाको राज्यसत्ताँ फाल्न सकिने र जनवाद प्राप्तिको लागि संघर्षको ठोस कार्यक्रम ल्याउन तथा लागु गर्न सम्भव हुने बताएका थिए ।
महासचिव लोकेशले सामाजिक व्यवस्था परिवर्तनका लागि, साम्यवादी लक्ष्य प्राप्तिका लागि इतिहास बोकेका, पुराना कम्युनिष्ट पार्टी र नेताहरुले समेत एक पटक गम्भिरतापूर्वक समिक्षा गर्दै वृहत कम्युनिष्ट एकताको लागि आ–आफ्ना कुराहरु छाडेर देश, जनता, परिवर्तनका मुद्दा र क्रान्तिको तयारीलाई केन्द्रमा राखेर सोच्नुपर्ने भन्दै आफुहरुले सबैलाई हार्दिकतापूर्वक छलफल चलाएको बताए ।
महासचिव लोकेशले वृहत कम्युनिष्ट एकता बिना वर्तमान दलालस संसादवाद फाल्न सहज नहुने भन्दै त्यसका लागि गम्भिरतापूर्वक छलफल गर्दै नेपाली क्रान्तिकारी आन्दोलनमा नयाँ उर्जा दिनसक्नुपर्ने धारणा राखे । दुई पार्टीका महासचिवहरु बिचको छलफल अत्यन्त सौहार्दपूण र पुर्न अर्को पटक थप छलफल गर्ने गरी सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) सबै परिवर्तनकारी, कम्युनिष्ट पार्टीहरुसँग छलफल गर्ने आफ्नो योजना अनुसार अहिले भेटघाट, छलफलमा जुटिरहेको छ । त्यसै सन्दर्भमा आज नेकपा (माले) का महासचिवसँग भेटवार्ता भएको बुझिएको छ ।