March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

बैतडी जिप दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो, खुल्यो सबैको परिचय

3.3K

बैतडी : बैतडीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ देहिमाडौंबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका-६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्ड अन्तर्गत दशरथचन्द नगरपालिका-४ कलुवाडमोडमा दुर्घटनामा परेको थियो।

जिपमा सवार ७ जनामध्ये ५ जनाको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। दुर्घटनामा २ जना सिकिस्त छन्। मृत्यु हुने सबै जना दशरथचन्द नगरपालिका-६ कै रहेका छन्।

दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

दुर्घटनामा दशरथचन्द नगरपालिका-६ का ४८ वर्षीय हर्कबहादुर चन्द र जिपचालक डडेल्धुराका ४० वर्षीय दीपक माली सिकिस्त छन्। उनीहरू दुवै जनालाई थप उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ।

राति साढे ८ बजेतिर दुर्घटनामा परेको जिप सडकबाट ७ सय मिटर तल खसेको थियो। दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।