May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदुर आन्दोलित

5K

बैतडी : दुई वर्षदेखि पारिश्रमिक नपाएको भन्दै सडक मजदुर (लेन्थवर्कर) आन्दोलित भएका छन्। उनीहरु बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डमा रिले अनशन बसेका छन्। सडकमै अनसन बसेपछि पाटन नगरपालिका-६ स्थित लोर्खामा सडक अवरुद्ध पारेका छन्।

मंसिर १ गतेदेखि दोस्रोपटक अनशन सुरु गरेका मजदुर हरुले दुई वर्षदेखिको पारिश्रमिक पाउनुपर्ने र रोजगारी सुनिश्चितताको माग गरेका छन्। सडकखण्ड बिहानैदेखि अवरुद्ध भएकाले प्रहरी टोली खटिएको इलाका प्रहरी कार्यालय पाटनका  प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

यसअघि गत असारमा २१ दिन पाटन–पञ्चेश्वर सडकखण्डको प्रवेशद्वार पाटन बजारनजिकै २१ दिन रिले अनशन बसेका थिए। त्यतिबेला पनि आश्वासनकै भरमा अनशन तोडेका थिए। लेन्थवर्करहरु पारिश्रमिक र रोजगारी सुनिश्चतताको माग गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष माग गर्दै कार्यालय समेत धाएका थिए। तर, त्यहाँबाट समेत आश्वासनमात्रै पाएको जयराम भुलले बताए।

Advertisement

आर्थिक वर्ष २०७५/७६ मा पाटन पञ्चेश्वर–सडक संघीय सरकारबाट प्रदेश मातहत गएदेखि उनीहरुले पारिश्रमिक पाएका छैनन्। तर, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा संघीय सांसद र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टले भने माग सम्बोधन हुने आश्वासन दिँदै आएका छन्। पटक पटक आश्वासन मात्रै दिएकाले अनसन बस्न र सडक बन्द गर्न बाध्य भएको भुलको भनाइ छ।