काठमाडाैं । अमेरिकाले कोभिड-१९, जलवायु परिवर्तन र आपसी हितका अन्य विषयमा नेपाललाई निरन्तर सघाउने तथा साझेदारी गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार साँझ उनको सरकारी निवासमा शिष्टाचार भेट गर्दै दक्षिण तथा मध्य एशियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र उपसहायक विदेशमन्त्री केली किडरलिङले नेपालप्रतिको अमेरिकी सहयोग र समर्थनको प्रतिबद्धता गरेका हुन्।
नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग सम्बन्ध स्थापना तथा नवीकरणका निम्ति बुधबार साँझ काठमाडौं आएका सहायक विदेशमन्त्री लु र सोही दिन आइपुगेकी उपसहायक विदेशमन्त्री किडरलिङबीच नेपाल-अमेरिका सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनाका साथै पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री र अमेरिकी कूटनीतिक टोलीबीच सात दशकभन्दा पुरानो नेपाल–अमेरिका सम्बन्धलाई थप प्रगाढ तुल्याउने, कोभिड-१९ महामारीको सन्दर्भमा सहयोगका दायरा अझ विस्तार गर्ने, महामारीपछिको पुनरुत्थान एवं पुनःप्राप्तिलगायत साझा हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।