January 18, 2022, Tuesday
२०७८ माघ ४
1:37:26 pm

पेसी तोक्न गोलाप्रथा लागू गरे इजलास फर्किन ५ न्यायाधीश सकारात्मक

605

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाप्रति असन्तुष्टि जनाएर इजलास बहिस्कार गर्दै आएका सर्वोच्च अदालतका १८ जना न्यायाधीशमध्ये ५ जना इजलासमा फर्कन सकारात्मक भएका छन्।

प्रधानन्यायाधीश राणाले मुद्दाको पेसी गोलाप्रथाबाट तोक्न स्वीकार गरेको भन्दै उनीहरू यसरी तोकिने मुद्दाको सुनुवाइ गर्न तयार भएका हुन्। सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठ, तेजबहादुर केसी, मनोजकुमार शर्मा, कुमार रेग्मी र कुमार चुडाल गोलाप्रथा लागू भए प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्न नपर्ने तर्कसहित इजलास फर्कन तयार भएका हुन्।

उनीहरू राजनीतिक दलहरू अघि नबढेको अवस्थामा कानुन व्यवसायीको एकोहोरो विरोधले मात्र केही नहुने भएकाले पनि प्रधानन्यायाधीश राणाले गोलाप्रथा लागू गरे मुद्दाको सुनुवाइ गर्न तयार भएको बताइएको छ। त्यस्तै, सबै न्यायाधीशको मुख्य विषय हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन भएकाले तत्काल गोलाप्रथा लागू भए क्रमशः प्रतिवेदनका अरु बुँदा पनि चरणबद्ध कार्यान्वयन गर्न सहज हुने उनीहरूनिकट स्रोतले बतायो।

Advertisement

स्रोतका अनुसार दलहरू मौन बसेको अहिलेको अवस्थामा केही हुन नसक्ने र प्रधानन्यायाधीश राणाले पनि एक्लै केही गर्न नसक्ने आकलन उनीहरूको छ। तर, उनीहरू अझै छलफलमै रहेको र भोलिको छलफलपछि यसबारे निर्णय लिने पनि स्रोतले बतायो।