January 23, 2022, Sunday
२०७८ माघ १०
1:37:26 pm

जाजरकोटमा ट्र्याक्टर दुर्घटना : एक महिलाको मृत्यु, ४ जना घाइते

२०७८ कार्तिक ३०

580

जाजरकोट : जाजरकोटको भेरी नगरपालिका-१० भुरचौरदेखि स्थानीय फेराखोलातर्फ जाँदै गरेको भे १ त ८२१५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा मंगलबार एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

भेरी नगरपालिका-१० भुरचौरकी २७ वर्षीया गीता बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सल्यानको सल्लीबजारमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताए।

Advertisement

दुर्घटनामा भेरी नगरपालिका-१० भुरचौरकी ४० वर्षीया जैकला बुढा, सोही ठाँउका २२ वर्षीय कालीदास राना, गीताकी छोरी १२ वर्षीया तुल्सी बुढा र सल्यान वनगाड कुपिण्डेदह-२ बामे निवासी ३६ वर्षीया संगीता शर्मा घाइते भएको थापाले बताए।

जैकली र कालीदास सिकिस्त छन्। घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ।

ट्याक्टरचालक भेरी नगरपालिका-१० बिराले बस्ने २२ वर्षका राजेन्द्र राना फरार रहेको प्रहरीले जनाएको छ।

पानी लिन गइरहेको ट्याक्टर मोडमा पल्टिएको थियो।