January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

बडुवाल हत्या प्रकरण : पक्राउ ८ जनाको नाम सार्वजनिक

२०७८ कार्तिक २४

750

धनगढी : कैलालीको टीकापुर नगरपालिका–१ स्थित सिद्धार्थ होटलनजिकै लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ८ जनाको नाम सार्वजनिक गरेको छ। 

पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–३ चिसापानी बस्ने २४ वर्षीय महेश रावल, सोही ठाउँ बस्ने २० वर्षीय आर्यन देवकोटा, सोही ठाउँ बस्ने २० वर्षीय धीरज शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ तथा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, टिकापुर नगरपालिका–१ बस्ने २१ वर्षीय रोहित आले र सोही ठाउँ बस्ने २६ वर्षीय सोहन शाह छन्। 

प्रहरीले संगम होटलमा आक्रमण हुन थालेपछि होटलका सञ्चालक र उनकी पत्नीलाई उनीहरूको सुरक्षाका लागि नियन्त्रणमा लिएको जनाएको छ।

Advertisement

घटनास्थलबाट सुपप्र ०१००८ प ५५६५ नम्बरको स्कुटर र सुपप्र ०१००८ प १०७२ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्यामा प्रयोग भएको खुकुरी पनि बरामद गरेको जनाएको छ । घटनामा संलग्न अन्यको खोजी गर्नुको साथै यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान सुरू गरेको हो।

नेपाली सेनाको गाडी तोडफोड

बडुवाल हत्याको विरोधमा दिनभर प्रदर्शनमा उत्रिएका स्थानीयले नेपाली सेनाको गाडी तोडफोड गरेको छन्। तालिमका लागि जुम्लाबाट महेन्द्रनगर जाँदै गरेको सेनाको गाडीमाथि प्रदर्शनकारीले कैलालीको लम्कीमा ढुंगा प्रहार गरी तोडफोड गरेका हुन्।

प्रदर्शनकारीले सेनाको गाडीमा ढुंगा प्रहार गरी अगाडीको सिसा फुटाएको बताइएको छ । बडुवालको हत्यापछि उनका आफन्त तथा स्थानीयले बुधबार दिनभर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिरहेका छन्।