काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग नेपाल बार एसोसिएसनले तिहारपछिको दोस्रो दिन मंगलबार पनि आन्दोलन जारी राखेको छ । तिहार सकिएलगत्तै सोमबारबाट आन्दोलनलाई निरन्तरता दिएको बारले प्रधानन्यायाधीश जबराकाबारेमा गम्भीर बन्न राजनीतिक दलहरूलाई आह्वानसमेत गरेको छ ।
बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका प्रधानन्यायाधीश जबराले मंगलबारबाट सबै मुद्दाको सुनुवाइका लागि इजलास गठन गरेको भन्दै जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरूले भने मुद्दा सुनुवाइमा सहभागी नहुने बताएका छन् ।
आफ्नो इजलासमा सातवटा विवाद सुनुवाइका लागि तय गरेका जबराले १० वटा इजलास गठन गर्दै २९८ मुद्दा सुनुवाइका लागि पेसी तोकेका छन् ।
नेपाल बार एसोसिएसनले जबराबारे गम्भीर कदम चाल्न आग्रह गरेको भोलिपल्टै उनले मुद्दा सुनुवाइलाई लयमा फर्काउन खोजेको सन्देश दिएका छन् । तर, जबराको यो कदमविरुद्ध नेपाल बार र सर्वोच्चका न्यायाधीशहरूले भने आन्दोलन जारी राख्ने बताएका छन् ।
जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीशसहित नेपाल बार एसोसिएसन आन्दोलित भएको हो ।
कालो पट्टी बाँधेर विरोधमा उत्रिएका बार पदाधिकारी र सदस्यहरूले दैनिक धर्ना दिँदै आएका छन् ।