धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१ गडेरेमा पहिरोले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् ।
मंगलबार राति खसेको पहिरोमा परी मृत्यु हुनेमा घरधनी ६० वर्षीय भीमबहादुर श्रेष्ठ, ९ वर्षीय विनोद श्रेष्ठ, ५ वर्षीया निर्जला श्रेष्ठ र झापाको दमक नगरपालिका–११ घर भएका ३९ वर्षीय सञ्जीव श्रेष्ठ, ३८ वर्षीया लक्ष्मी श्रेष्ठ र ७ वर्षीया दिप्सन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी घाइते हुनेमा भेषबहादुर श्रेष्ठ, लीला श्रेष्ठ, गणितकुमारी श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, उषा श्रेष्ठ र सञ्जाल श्रेष्ठ रहेको स्रोतले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहिको अवस्था चिन्ताजनक छ ।
एक स्थानीयका अनुसार घाइते सबैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनका अनुसार वर्षाका कारण सडक अवरुद्ध भई यातायात बन्द हुँदा घाइतेलाई उपचारका लागि अन्यत्र लैजान सकिएको छैन ।