काठमाडौं : स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँसहित प्रहरीले वीरगञ्जबाट तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन्। भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई उक्त रकमसहित प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले वीरगञ्ज–२५ सिर्सिया छोटी भन्सार अगाडिबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। उनीहरुले लगाएको हेल्मेटभित्र फेला परेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।
प्रहरीले उनीहरूले प्रयोग गरेको ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीले तराइका जिल्लामा स्रोत नखुलेको लाखौ रकम दिनहुँ बरामद गरिरहेको छ।