May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

हेलिकप्टरबाट पुर्‍याइयो उत्तरी गोरखामा खाद्यान्न

515

गोरखा । उत्तरी गोरखामा हेलिकप्टरबाट ढुवानी गरेर खाद्यान्न पुर्‍याइएको छ । सर्दीभीर लगायतमा पहिरोले बाटो बिगारेपछि खच्चडबाट खाद्यान्न ढुवानी गर्न सकिएको थिएन । नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार चुम्चेतको चुम्लिङसम्म खाद्यान्न ढुवानी गरिएको छ।

हेलिकप्टरले दुईपटक गरी तीन हजार चार सय २० किलोग्राम चामल ढुवानी गरेको हो। गत शुक्रबार गृहमन्त्री बालकृष्ण खाण उत्तरी गोरखा पुगेर फर्केका थिए। त्यहाँका स्थानीयले बाटो नहुँदा खाद्यान्न अभाव भएकोले ढुवानीमा सहयोग गर्न आग्रह गरेका थिए।

गृहमन्त्री खाणले हेलिकप्टरबाट भए पनि खाद्यान्न ढुवानीको व्यवस्था गर्न गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललाई निर्देशन दिएका थिए । गृह मन्त्रालयको पहलमा गोरखा सदरमुकामबाट खाद्यान्न हेलिकप्टरबाट ढुवानी गरी उत्तरी गोरखा पुर्‍याइएको हो।

Advertisement

स्थानीय बासिन्दाले गृहमन्त्री खाणसँग बाटो खुलाउन, टेलिफोनको टावर सञ्चालनमा ल्याउन माग गरेका थिए। पहिरोले भत्काएको बाटो मर्मतका लागि पनि पहल भइरहेको मन्त्रालयले जनाएको छ।