काठमाडौ । सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरूद्धको खोप ल्याउने तयारी भइरहेको छ । चितवनमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंअघि एक लाख डोज खोप ल्याइने बताएका हुन् ।
बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडेर्ना’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ । आगामी चैत महिनाभित्र कोरोना विरूद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ बताए ।
‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’, श्रेष्ठले बताए ।
त्यसैगरी भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने पनि उनले जानकारी दिए ।