February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

काठमाडौंमा बृहत नागरिक आन्दोलनको प्रदर्शन: असोज तीन, कालो दिन !

3.2K

काठमाडौं । वृहद् नागरिक आन्दोलनले संविधान संशोधनको माग राख्दै काठमाडौंमा प्रदर्शन गरेको छ । आइतबार संविधान संशोधन मार्च नाम दिइएको उक्त प्रदर्शन माइतीघरबाट सुरू भएर नयाँ बानेश्वरस्थित संसद भवनअगाडिसम्म पुगेर सभामा परिणत भएको थियो ।

सभामा विभिन्न समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न वक्ताहरूले अहिलेको संविधान कसरी विभेदकारी रहेको भन्नेबारे आ-आफ्नो भनाई राखेका थिए ।

सभामा सहभागीहरूले ‘असोज तीन, कालो दिन’, नश्लीय संविधान, मुर्दावादलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीहरूले यस्ता विभिन्न नारा लेखिएका प्ले कार्डहरू पनि बोकेका थिए ।

Advertisement

सभामा बोल्दै नागरिक अभियन्ता नारायण वाग्लेले अहिलेको सरकार र संविधान अग्रगमनकारी नभएको बताए । २०७२ सालमा संविधान जारी हुँदा जे जारी भयो र जसरी जारी भयो त्यसको विरोधमा नागरिकहरू आन्दोलनमा होमिएको उनको भनाई छ ।

‘विविधतापूर्ण समाजको प्रतिनिधित्व नगर्ने संविधान दमन गरी जारी गरियो,’ वाग्लेले भने, ‘त्यसको जवाफमा हामी एकतावद्ध भएर आन्दोलनमा आएका छौं।’

वृहद नागरिक आन्दोलनको अर्थ संख्यामा ठूलो नभई चेतना र जागरणको गहिरो आन्दोलन भएको वाग्लेको भनाइ छ । ‘यो चेतना र अग्रगमनको आन्दोलन हो। बञ्चिति र बहिष्करणमा परेकाहरूको मुक्तिको आन्दोलन हो,’ वाग्लेले भने।

उनले गत वर्ष आफूले तेस्रो जनआन्दोलन घोषणा गरेको सम्झना गर्दै यो आन्दोलन केही दिनका लागि नभई लामो समयका लागि भएको बताए । अहिलेको सरकार पनि अग्रगमनकारी नभएको वाग्लेको भनाई छ । गणतन्त्र आए पनि सरकारहरूले राणाकालीन पदक बक्सिस दिने परम्परा जारी राखेको उनले बताए ।

‘यो कस्तो संविधान र सरकार हो भन्ने कुरा आज संविधान दिवस कसरी बनाए भन्ने कुराले पनि देखाउँछ। चाकडी, चाप्लुसी गरेर तक्मा दिइयो। तक्मा बाँड्ने सरकार पञ्चायती सरकार हो ।’ वाग्लेले भने।