बैतडी : राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्र्तगत बैतडीमा सोमबार एक सुत्केरीको हेलिकाेप्टरबाट उद्धार गरिएको छ।
उद्धार गरिनेमा डिलाशैनी गाउँपालिका–४ ढाणकी २० वर्षीया मञ्जु कार्की छन्। बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बच्चा जन्मिएर सालनालन निस्केपछि रक्तश्राव भएपछि मञ्जुको हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी दिए।
हाडाकोट स्वास्थ्य चौकीमा सुत्केरी भएकी मञ्जुको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारकालागि धनगढी रेफर गरिएको भारतीले बताए।
स्वास्थ्य चौकीबाट यातायात सेवा भएको ठाउँ पुग्न सात घण्टा लाग्ने र सुत्केरीको ज्यान खतरामा पर्ने भएकोले तत्काल सिम्रिक एयरको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। मञ्जुले जन्माएको शिशुको अवस्था भने सामान्य रहेको छ।