May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

बुटवलमा पहिरोले थप ७ घर पुरिए

4.1K

काठमाडौं – बुटवलमा सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन्।

वर्षाका कारण जोखिम न्यूनीकरणका काम गर्न समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन्। आइतबारसम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घरभित्र पसेको प्रहरीले जनाएको छ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

Advertisement

वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षतिको जोखिममा रहेको उनले बताए। पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन्।

साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ। वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने खतरा बढेको प्रहरीले जनाएको छ। २०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभावित भएको थियो।

ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए। आइतबार बिहानदेखि झर्न सुरु गरेको लेदोसहितको पहिरो अझै रोकिएको छैन।