January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

आज आकस्मिक बाढीको जोखिम भएका नदी (सूचीसहित)

4.8K

काठमाडौं- पुनः मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा भएसँगै आज मझौला नदीहरु सबैमा बहाब उल्लेख्य  बढ्ने विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली नदीहरुमा बहावमा बढ्दो क्रममा रहेको छ। बागमतीको पधेरादोभान जलमापन केन्द्रमा जलसतह खतरा तह पुगेको र बढ्दो क्रममा रहेको छ। 

आज नारायणी र यसका सहायक नदीहरुमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने कर्णाली, महाकाली र यिनका सहायक नदीहरुमा बहाव बढ्ने र केहीमा सतर्कता तह आसपास पुग्न सक्ने सम्भावना रहेको छ। कोशी र यसका सहायक नदीहरुमा बहाव सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तल रहने पूर्वानुमान छ। मझौला नदीहरु सबैमा बहाब उल्लेख्य बढ्ने छ।

Advertisement

कमला, बागमती, तिनाउ लगायतमा बहाब खतरा तह आसपास पुग्ने कन्काई, पूर्वी राप्ती, पश्चिम राप्ती र बबईमा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ। 

आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, प्रदेश २ को पर्सा, रौतहट, सर्लाही, बारा, महोत्तरी, धनुषा, सिराहा, सप्तरी; बागमती प्रदेशको दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, सिन्धुली, मकवानपुर, चितवन, गण्डकी प्रदेशको नवलपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी; लुम्बिनी प्रदेशको नवलपरासी, पाल्पा, रुपन्देही, कपिलबस्तु, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रोल्पा, रुकुम पूर्वः कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, कालिकोट, जाजरकोट, सुदरपश्चिम प्रदेशको दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, कैलाली, बझाङ, बाजुरा, डोटी, अछाम र आसपासका जिल्ला भई बहने स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहावको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

नदीहरुका तटीय क्षेत्र तथा डुवान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।