सर्लाही- सर्लाहीको लालबन्दीमा एक किशोरीको शव भेटिएको छ । लालबन्दी नगरपालिका–१७, रानीगञ्जकी १६ वर्षीया प्रियंका भुजेलको शव स्थानीय खोलामा फेला परेको प्रहरीले जनाएको छ ।
रानीगञ्ज डाँडाटोल निवासी राजन भुजेलकी छोरी प्रिंयका गएको साउन ३१ गतेदेखि बेपत्ता थिइन् । गए राति स्थानीय कालीञ्जोर खोलामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए । घरदेखि करिव ३ किलोमिटर पर टाढा लालबन्दी नगरपालिका–६ मा पर्ने कालिन्जोर खोलाको एकान्त ठाउँमा उनको शव फेला परेको हो ।
खोलामा किशोरीको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमार्टमका लागि मंगलवार राति नै जिल्ला अस्पताल मलंगवा लगिएको छ । उनको मृत्युको कारण खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।