March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

कहाँ–कहाँ छ आज बाढीको जोखिम ?

5.4K

काठमाडौं- नेपालमा फेरि मनसुन सक्रिय बनेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेका कारण देशभर मनसुन सक्रिय भएको मौसमविदले जनाएका छन् ।

आज (सोमबार) देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका चार प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । आज कमला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ । कोशी र यसका सहायक नदीहरू तमोर, अरुण, दूधकोसी, मेलम्ची, इन्द्रावती, सुनकोशीमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कन्काई, वागमती, पूर्वी राप्ती र तिनाउमा पनि बहाव बढ्ने पूर्वानुमान छ । नारायणी, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ । पश्चिम राप्ती र बबईलगायत मझौला नदीहरूमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

Advertisement

आज इलाम, झापा, उदयपुर, ओखलढुंगा, खोटाङ, भोजपुर, संखुवासभा, सोलुखुम्बु, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काठमाडौं उपत्यका, चितवन, गोरखा, तनहुँ, स्याङ्जा, नवलपुर, नवलपरासी, पाल्पा, अर्घाखाँची, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, कञ्चनपुर, कैलाली, अछाम, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।

विशेष गरी कमलामा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
यस्तो छ बाढीको पूर्वानुमान