April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

चैतसम्म २ करोड ६५ लाख नेपालीलाई कोरोना खोप लगाउने लक्ष्य

3.2K

काठमाडौं– सरकारले आगामी चैतसम्म ४ करोड बढी डोज कोरोनाविरुद्धको खोप प्राप्त हुने प्रक्षेपण गरेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उमेरका हिसाबले खोप लगाउन योग्य सबै (लक्षित) नागरिकलाई पुग्ने गरी चैतसम्म ४ करोड २८ लाख ४८ हजार डोज खोप प्राप्त हुने प्रक्षेपण गरेको छ।

सरकारले चैतसम्म २ करोड ६५ लाख जनसंख्या (नागरिक)लाई खोप लाउने लक्ष्य लिएको छ। स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले चैतसम्म खोप लगाउने भनिएका सबै नागरिकलाई पुग्ने गरी खोप प्राप्त हुने प्रक्षेपण गरिएको बताए।

Advertisement

लक्षित समूहका सबै नागरिकलाई दुई मात्रा लगाउँदा ५ करोड ३० लाख बढी डोज खोप आवश्यक पर्ने देखिन्छ। तर, केही खोप सिंगल डोज (पहिलो मात्रा) मात्रै लगाए पुग्ने खालको पनि प्राप्त हुने भएकाले प्रक्षेपण गरिएअनुसारको खोप लक्षित समूहका सबै नागरिकलाई लगाउन पुग्ने सचिव अर्यालको भनाइ छ।   

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनीले ४ करोड २८ लाख ४८ हजार डोजमध्ये १ करोड ५ लाख ४८ हजार डोज खोप असोजसम्मै प्राप्त भइसक्ने जानकारी दिए। 

सोमबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिमा कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिँदै डा लोहनीले असोजसम्म कोभ्याक्स सुविधा, वैदेशिक अनुदान र खरिदबाट गरी १ करोड ५ लाख ४८ हजार डोज खोप प्राप्त हुने जानकारी दिए। 

कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप प्राप्त हुने बताए। जापानबाट प्राप्त हुने खोप भदौ पहिलो सातासम्म आइपुग्ने उनको भनाइ छ। यस्तै, कोभ्यास सुविधाअन्तर्गत थप ३ लाख ४८ हजार डोज खोप भदौको अन्तिम साता प्राप्त हुने लोहनीले जानकारी दिए। 

वैदेशिक सहायताअन्तर्गत चीन सरकारबाट १६ लाख डोज खोप प्राप्त हुने उनको भनाइ छ। चीनबाट अनुदानमा प्राप्त हुने खोप साउन अन्तिम सातासम्म नेपाल आइपुग्ने लोहनीले जानकारी दिए।

असोजसम्म खरिदबाट ७० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ। नेपालले भारतबाट पहिले नै खरिद गरेको, तर प्राप्त हुन नसकेको १० लाख डोज कोभिसिल्ड खोप भदौको दोस्रो साता प्राप्त हुने लोहनीले बताए। यस्तै, चीनबाट खरिद गरिएको ६० लाख डोज भेरोसेल खोप भदौ मसान्तसम्म प्राप्त भइसक्ने उनको भनाइ छ। 

डा लोहनीले असोजदेखि चैतसम्म ३ करोड २३ लाख डोज खोप प्राप्त हुने जानकारी दिए। जसअन्तर्गत कोभ्याक्सबाट १ करोड १३ लाख डोज निःशुल्क प्राप्त हुने उनको भनाइ छ। कोभ्याक्सबाटै लागत सहभागितामा कोभिसिल्ड, मोडर्ना, फाइजर, जनसन, सिनोभ्याक्स आदि गरी १ करोड ५० लाख डोज खोप प्राप्त हुने लोहनीको भनाइ छ। 

असोजदेखि चैत सम्ममा बालबालिकाहरुका लागि ६० लाख डोज फाइजर खोप पनि उपलब्ध हुने उनले बताए।  

डा लोहनीका अनुसार हालसम्म ९७ लाख ८२ हजार ८५० डोज खोप प्राप्त भइसकेको छ। कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार कोभिसिल्ड र १५ लाख ३४ हजार ८५० जनसन गरी १८ लाख ८२ हजार डोज खोप प्राप्त भएको लोहनीले जानकारी दिए। 

हालसम्म वैदेशिक अनुदानअन्तर्गत चीन सरकारबाट १८ लाख डोज र भारत सरकारबाट ११ लाख डोज खोप प्राप्त भएको छ। 

खरिद गरेर हालसम्म ५० लाख डोज खोप प्राप्त भएको लोहनीले जानकारी दिए। १० लाख डोज खोप भारतबाट कोभिसिल्ड र ३२ लाख डोज चीनबाट भेरोसेल खोप खरिदबापत प्राप्त भइसकेको उनले जानकारी दिए। खरिद बापत चीनबाट प्राप्तमध्ये ८ लाख डोज खोप शुक्रबार नेपाल आइपुग्ने उनको भनाइ छ। 

सरकारले चैतसम्म २ करोड ६५ लाख जनसंख्या (नागरिक) लाई खोप लगाउने लक्ष्य लिएको लोहनीले जानकारी दिए। लक्षितमध्ये असोजसम्म ३३ प्रतिशत र चैत मसान्तसम्म सबै लक्षित जनसंख्यालाई खोप लगाइसक्ने लक्ष्य लिएको छ। साउन १० गतेसम्मको तथ्याङ्कअनुसार १४ लाख ३० हजार ४ सय नागरिकले पूर्ण खोप लगाइसकेका छन्। यस्तै, ३४ लाख ५ हजार १५४ जनाले पहिलो डोज लगाइसकेका छन्।