July 29, 2021, Thursday
२०७८ श्रावण १५
1:37:26 pm

अमेरिकाले दिएको १५ लाख डोज खोप आज नेपाल आइपुग्ने

215

काठमाडौं- अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ।

अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ। अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट आइतबार नेपालका लागि प्रस्थान गरेको र सोमबार बिहान नेपाल आइपुग्ने जनाइएको छ। 

उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो। कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण भएको बताए। राजदूत खतिवडाले भने, “अमेरिकी सरकारको सहयोगका लागि नेपाल सरकारका तर्फबाट म अमेरिकी सरकार र यहाँका जनताप्रति हार्दिक आभार व्यक्त गर्दछु।”  

नेपालले अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल गरिरहेको छ तर खोपको माग अत्यधिक भएकाले कतिपय कम्पनीहरुले सन् २०२१ सम्मका लागि नयाँ सम्झौता गर्न नसकिने बताइरहेका छन्।

नेपालले खोपको आयात गर्न र भण्डारण गर्न पूर्वाधारसमेत निर्माण गर्नुपर्ने हुन्छ। त्यसका लागि अझ बढी समय लाग्नसक्ने जानकारहरुको भनाइ छ।