July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

आज यी ठाउँमा छ बाढी र डुबानको खतरा ?

245

काठमाडौं, २५ असार । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यसैको प्रभावका कारण आज पनि देशका धेरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखााका मौसमविद् शान्ति कँडेलका अनुसार अहिले प्रदेश–१, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा प्रदेश–२, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको हो ।

‘कतै रातिदेखि नै पानी परिरहेको हो भने काठमाडौंको हकमा बिहान ३ बजेपछि देखि वर्षा भइरहेको छ,’ मौसमविद् कँडेलले शुक्रबार बिहान भनिन्, ‘यो एक घण्टायताको ताजा अवस्था भनिएको हो, नत्र हिजैदेखि पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न स्थानमा वर्षा भइरहेकै छ। ’
मौसमविद् कँडेलले अझै केही दिन मनसुन निष्क्रिय हुने सम्भावना नदेखिएको बताइन् । ‘यस विषयमा बुलेटिन (विशेष) जारी गर्ने कि भनेर हामी छलफल गर्दैछौं,’ उनले भनिन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने यस क्रममा प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चम प्रदेशका थोरै स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ । बर्षाका कारण आज महाकाली, कर्णाली, कोशी, नारायणी नदी र यिनका सहायक नदीहरुमा पानीको बहाव केही बढ्नेछ । तर, सबैमा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।

आज पश्चिम राप्ती, तिनाउ, बबई र यिनका सहायक नदीहरुमा पनि बहाव बढ्ने छ । केही साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । कन्काई, कमला, वाग्मती, पूर्वी राप्तीलगायतमा बहाव समान्य घटबढ हुने जनाइएको छ ।

आज संखुवासभा, सोलुखम्बु, भोजपुर, ओखलढुंगा, तेह्रथुम, खोटाङ, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ, सप्तरी, पर्सा, सिरहा, धनुषा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, चितवन, काठमाडौं, धादिङ, मकवानपुर, सिन्धुली, तनहुँ, स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, नवलपुर, बागलुङ, कास्की, मनाङ, पाल्पा, रुकुम पूर्व, कपिलवस्तु, नवलपरासी, बर्दिया, अर्घाखाँची, गुल्मी, रुपन्देही, बाँके, बर्दिया, दाङ, प्युठान जाजरकोट, सुर्खेत, कालीकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, दार्चुला, बझाङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, अछाम, बाजुरा र आसपास जिल्ला भई बहने स–साना नदीहरुमा बहाव बढ्ने छ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
यस्तो छ बाढीको पूर्वानुमान