July 29, 2021, Thursday
२०७८ श्रावण १४
1:37:26 pm

कांग्रेसको सह-महामन्त्रीमा भीष्मराज आङ्देम्बेको उम्मेदवारी घोषणा

840

काठमाडौँ । आसन्न महाधिवेशनमा कांग्रेसको सह–महामन्त्री पदका लागि भीष्मराज आङ्देम्बेले उम्मेदवारी गरेका छन् ।

उनले आदिवासी जनजातितर्फ सह–महामन्त्री पदमा प्रतिष्पर्धा गर्ने तयारी गरिरहेको बताएका छन् । आङ्देम्बे सभापति शेरबहादुर देउवानिकट नेता हुन् । देउवाको टिमबाट सह–महामन्त्री पदमा उम्मेदवारी दिने गरी आङ्देम्बेले तयारी अगाडि बढाएका हुन् । आफ्नो उम्मेदवारीबारे आङ्देम्बेले जिल्ला तहका कांग्रेस नेताहरुसँग छलफल र परामर्श गरिरहेका छन् ।

पाँचथरमा जन्मेका आङ्देम्बे नेपाल विद्यार्थी संघमा सक्रिय हुदै कांग्रेसको राजनीतिमा होमिएका हुन् ।

पार्टी प्रतिबन्धित कालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य भएका उनले पुर्वाञ्चल विकास क्षेत्रको कमाण्ड सम्हालेका थिए ।

त्यसपछि नेपाल तरुण दलको उपाध्यक्ष बनेका उनी २०५९ देखि निरन्तर कांग्रेस केन्द्रीय सदस्य छन् । पार्टीको आदिवासी जनजाति विभागको संयोजक भएर काम गरिसकेका उनी हाल पार्टीको अनुशासन समितिका सयोजक छन् । उनी जनजाति समुदायका आशालाग्दा नेता हुन् ।

२०७० को दोस्रो संविधान सभा चुनाबमा पाँचथर–२ बाट निर्वाचित भएका आङ्दम्बेले संविधान सभाको बिषयगत समितिको सभापति भएर काम गरेका थिए ।
कांग्रेसमा उनीभन्दा जुनियर कतिपयले लाभको पद हासिल गरिसकेका छन् । तर आङ्दम्बे अहिलेसम्म लाभको पदमा गएका छैनन् ।

आगामी भदौ १६ देखि १९ गतेसम्म हुने कांग्रेसको १४ औँ महाधिवेशनबाट आदिवासी जनजातिसहित खसआर्य, महिला, दलित, मधेशी, मुस्लिम, थारु र पिछडिएको क्षेत्रसमेत गरी आठ जना सह–महामन्त्री निर्वाचित हुदैछन् ।

यो महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, डा.शशाङ्क कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, सुजाता कोइराला र कल्याणकुमार गुरुङ सभापतिका आकाक्षी छन् ।